चिनियाँ नागरिकको नेपाली युवती तस्करी धन्दा : १ हजार डलरको लोभ देखाएर लाओस् पुर्याइएपछि…

- दियोपोस्ट  

काठमाडौं । नेपाली युवतीहरुलाई भारतीय कोठीहरुमा बेचविखन गर्ने दलालहरुबारे त निकै समाचार प्रकाशित भएका छन् । नेपाली चेलीलाई भारतीय बजारमा विक्री गर्ने एक जना वडाध्यक्षलाई त जेल सजाय नै भएको थियो । तर, पछिल्लो समय नेपाली चेलीलाई चीन बेचविखन गर्ने कार्यमा चिनिया नागरिक समेत लागि परेको घटना सार्वजनिक भएको छ ।

दुई चिनिया नागरिकमाथि मानव बेचविखन तथा ओसार पसारको आरोप लागेको हो । गत भदौ १७ गते काठमाडौं महानगरपालिका–२६ बबरमहल बस्ने राधिका प्रधान(परिर्वतन) सहित दुई महिलालाई बैदेशिक रोजगारका लागि सेल्स मार्केटिङको काममा लगाइदिने भन्दै लाओस पठाएका थिए । चिनिया नागरिक चेङ याङ र रुआन चाओहोङले उनीहरुको मासिक पारिश्रमिक १००० देखि १५०० सम्म अमेरिकी डलर हुने भन्दै प्रलोभनमा पारेर विभिन्न व्यक्तिद्वारा ओसार–पसार गरेका थिए । लाओस पुगेपछि उनीहरुलाई गैर कानूनी काममा लगाएको पाइएको छ ।

“हामीलाई चिनिया नागरिकहरु चेङ याङ र रुआन चाओहोङले सेल्स गर्लको रुपमा लाओस पठाई आर्कषक तलब हुने समेतको प्रलोभन देखाई गैह्र कानुनी रुपमा नेपालबाट भारत, थाईल्याण्ड हुँदै लाओससम्म पुऱ्याई स्क्यामर ९फेक एकाउन्ट बनाएर फेक लिंक पठाई पैसा ठगी गर्ने० जस्तो गैरकानूनी काममा लगाई हामीले करिव २ महिना काम गरेको पारिश्रमिक रकम समेत नदिई हामीलाई मार्छु भनि विभिन्न डर,त्रास र धम्की समेत दिई मानसिक यातना दिएको हुदा निज प्रतिबादीहरुलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम हदै सम्मको कानूनी कारवाही तथा सजायँ ” जाहेरीमा उल्लेख छ ।

साथै शारीरिक तथा मानसिक यातना दिन थालेपछि घर–परिवारले नेपालबाट टिकट काटेर उनीहरुलाई उद्दार गरिएको छ । उनीहरुले गत पुस ३ गते काठमाडौं अदालतमा संयुक्त मुद्दा दायर गरेका छन् । मानव बेचविखन तथा ओसारपसार (नियान्त्रण) ऐन, २०४३ को दफा १५ मा मानिस किन्ने वा बेच्नेलाई बीस वर्ष कैद र दुई लाख रुपैयाँ जरिबाना, विदेश लैजानेलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना र बालबालिका लगेको भए पन्ध्र वर्षदेखि बीस वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि दुईलाख रुपैयाँ सम्म जरिबानाको व्यवस्था गरिएको छ ।