हातहतियार मुद्दामा एमालेका कास्की जिल्ला नेता थापा फरार, ज्यान मुद्दाको सेटिङमा उन्मुक्ति !

दियो पोस्ट  

काठमाडौं । हातहतियार खरखजना मुद्दामा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका एक व्यक्ति फरार रहेको पाइएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २४ बाट वडाध्यक्षका उम्मेदवार बनेका रामचन्द्र थापा फरार सुचीमा परेका हुन् । उनको नाममा ईजाजत पत्र २२ बोरको हतियारले मुस्ताङका घोरलको शिकार गरेको र घाइते रहेको घोरल लिन जाँदा अर्का व्यक्तिको पनि मृत्यु भएपछि थापालाई समेत प्रतिवादी बनाएर प्रहरीले सरकारी वकिल कार्यालयमा मुद्दा अभियोजन गरेको थियो । सरकारी वकिल कार्यालय मस्ताङले थापालाई पनि प्रतिवादी बनाएर जिल्ला अदालत मुस्ताङमा मुद्दा दायर गरेको छ । तर, थापा भने पक्राउ पर्ने डरले मोबाइल स्विच अफ गरेर फरार छन् ।

दियोपोस्टलाई प्राप्त कागजात अनुसार कास्कीको साविक कास्कीकोट गाउँपालिका वडा नम्बर ७ हाल पोखरा महानगरपालिका वडा नम्बर २४ घर भएका ५३ वर्षिय थापाको नाममा १२५६३३ नम्बरको २२ बोरको राईफलले गत मंसिर २६ गते मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ४ स्थित डाँडाखर्कमा शिकार खेल्ने क्रममा जंगली जनावर झारलको शिकार गरेको थियो । पोथी तिवाई भनिने झारललाई गोली लागेपछि महेश भन्ने चन्द्रलाल तुलाचनले भिरमा गएर झारल काँधमा हालेर ल्याएका थिए । सोही झारल काँधमा हालेर ल्याउने क्रममा भिरबाट खसेर भिरबाट करिब १५० मिटर तल खसेपछि उनको मृत्यु भएको थियो । थासाङको वडा नम्बर ५ छ्योस्थित कालिगण्डकी नदि पुल नजिकै प्रहरीले लाशको जाँच प्रकृति मुचुल्का तयार गरेको थियो ।

जमर्नमा बनेको उक्त हतियार थापाले केही वर्षअघि बेचेको भनेपनि लाइसेन्स भने उनकै नाममा थियो । गोली प्रहार गर्ने शंकरमान गौचनले उक्त हतियार ३ लाख रुपैयाँमा रामचन्द्रसँग किनेको प्रहरी समक्ष बयान दिएका छन् । तर, गोली र हतियार लिएपनि लाइसेन्स नामसारी भने नगरेको उनको बयानमा उल्लेख छ ।

तर, हतियारको लाइसेन्सवाला व्यक्ति रामचन्द्रलाई प्रतिवादी बनाइएपनि पक्राउ समेत नगरी प्रहरीले सरकारी वकिल समक्ष अभियोजन गरेको छ । त्यतिमात्रै होइन कसैको मृत्यु नै भएको घटनालाई ज्यान मुद्दा समेत नबनाई हातहतियार खरखजनाको मात्रै अभियोजन गरिएको स्रोतले बताएको छ । हतियारको लाइसेन्सवाला व्यक्ति थापाले एमालेका विभिन्न नेता लगाएर सेटिङ मिलाएको प्रहरी स्रोतको भनाई छ । उनलाई उन्मुक्ती दिलाएर अभियोजन गर्न प्रहरी निरिक्षक गोपीकृष्ण सुवेदीलाई आर्थिक प्रभावमा पारिएको एक अनुसन्धानकर्ताले दियोपास्टलाई बताए ।

सवारी ज्यान मुद्दामा जसको नाममा बिलबुक छ उसलाई समेत पक्राउ गरि मुद्दा लगाइने गरेको छ । थापालाई भने एमालेको उपल्लो तहका नेतासम्म पहुँच भएका प्रहरीकै मिलेमतोमा उन्मुक्ति दिएको स्रोतको दाबी छ ।
यस विषयमा प्रतिक्रिया लिन थापाको मोबाइलमा सम्पर्क गर्दा उनको मोबाइल अफ छ ।