दाङ । दाङ जिल्ला अदालतले आपराधिक लाभको मुद्दामा तीन जना महिला दोषी ठहर गर्दै जेल सजाए तोकेको छ।
जिल्ला अदालतले आइतबार सीतादेवी थापासहितका तीन जना महिलाले कसुर गरेको ठहर गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आपराधिक लाभको मुद्दामा प्रतिवादी प्युठान स्वर्गद्वारी नगरपालिका घर भई हाल घोराही उपमहानगरपालिका–१५ मा बस्दै आएकी सीतादेवी थापासहित तीन जनालाई दोषी ठहर गरेको हो।
कसुर ठहर हुनेमा घोराही उपमहानगर–५ की सुष्मा परियार र घोराही–१ की खुमा वली रहेका छन्। कसुरदार तीनै जनालाई जनही एक वर्ष ६ महिनाको कैद सजाय र १५र१५ हजार रुपैयाँ जरिवाना फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताए ।
मुलुकी अपराध संहिता २०७४ को दफा २५३ को उपदफा १,२ र ३ (क) कसुरमा सोही ऐन र दफाको उपदफा ३ (ख) अनुसार जरिवानाको फैसला गरेको उनले बताए।
अदालतले जनही दस हजारका दरले जाहेरवालाई क्षतिपूर्ति दिन पनि फैसला गरेको श्रेस्तेदार घिमिरेले बताए ।
श्रेस्तेदार घिमिरेका अनुसार आपराधिक लाभ उठाउने मुद्दामा जिल्ला अदालतबाट भएको यो पहिलो फैसला हो ।
परिवर्तित नाम भद्रबहादुर जैसीले आपराधिक लाभ उठाउन खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दर्ता गराएका थिए। सोही जाहेरीमा अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमार्फत २०७८ असोज १९ गते दाङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। त्यसको करिब दुई वर्षपछि फैसला भएको हो।
हनि ट्रयापको आरोपमा पक्राउ परेकी सीतादेवी थापा एक लाख ५० हजार, सुष्मा परियार ७० हजार र खुमा वली ८० हजार रुपैयाँ धरौटीमा २०७८ असोज २२ गते छुटेका थिए।
‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा २०७८ असोज २ गते घोराहीबाट उनीहरू तीन जनालाई प्रहरीले पक्राउ परेको थियो। होटलमा खाजा खान बोलाएर अन्त्यमा बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्न खोजेको भन्दै पक्राउ गरी २०७८ असोज २ गते पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको थियो।