काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र खारेज गर्नेसम्मको चेतावनी दिएपछि एनसेल आजियटाले अन्ततः सेयर खरिद–बिक्रीसम्बन्धीका दस्ताबेजहरू पेस गरेको छ । मलेसियाको आजियटा समूहले एनसेल नेपालमा भएको आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट यूकेलाई बेचेको घोषणा गरेको झन्डै तीन सातापछि प्राधिकरणले कारोबारका दस्ताबेज प्राप्त गरेको पुष्टि गरेको छ ।
आजियटाका प्रतिनिधिले पनि कानुनले तोकेबमोजिम प्राधिकरणबाट बारम्बार माग भई आएका सम्बन्धित दस्ताबेजहरू उपलब्ध गराइएको बताएका छन् । प्राधिकरणले भने सोमबार एनसेललाई सेयर खरिद–बिक्रीबारे तेस्रो पटक पत्र पठाउँदै दस्ताबेज उपलब्ध नगराए हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको थियो ।
यसैबीच एनसेल प्रकरणबारे अध्ययन गर्न बनेको उच्चस्तरीय छानबिन समितिसँगै विभिन्न संसदीय समितिहरूले नियामक प्राधिकरणलाई सेयर खरिद–बिक्री सम्झौतालगायत विषयका कागजपत्र उपलब्ध गराउन निर्देशन दिइरहेका छन् । लेखा समितिले प्राधिकरणलाई मंसिर १७ मा लेखेको पत्रमा यस प्रकरणसँग सम्बन्धित ९ वटा प्रश्नहरू सोधेको थियो ।
समितिलाई प्राधिकरणले बुझाएको जवाफी पत्रमा नेपालका दूरसञ्चारसम्बन्धी ऐन, नियमावली र विनियमावलीले तोकेका सर्तहरू पूरा नगरेको पाइएकाले एनसेलको पछिल्लो कारोबार अवैधानिक ठहर्न सक्ने उल्लेख गरिएको छ ।
बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले पनि सञ्चार मन्त्रालय र प्राधिकरण नेतृत्वलाई एनसेलको सेयर स्वामित्व बिक्रीबारे दस्ताबेज तथा यथार्थ जानकारीसहित आगामी बैठकमा बोलाउने निर्णय गरेको थियो ।
नेपालमा दूरसञ्चार व्यवसायमा बढ्दो चुनौतीलाई कारण देखाउँदै आफूले सो निर्णय लिएको आजियटाको दाबी थियो । आजियटाले मंसिर १४ मा आफ्नो स्वामित्वको सेयर बेलायतको स्पेक्ट्रलाइट यूकेलाई ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गरेको सार्वजनिक गरेको थियो ।