यी हुन् रविलाई मकैको खोया प्रहार गर्ने व्यक्ति

दियो पोस्ट  

पोखरा । पोखराको अमरसिंह चौरमा शनिबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्वोधन गर्दै थिए । त्यही बेला दर्शक दीर्घाबाट उनीमाथि मकैको खोया प्रहार भयो । खोया प्रहार गर्नेलाई कार्यकर्ता र सुरक्षाकर्मीले समाते । सम्बोधन गरिरहेका रविले उनलाई केही नगर्न आग्रह गरे ।

‘विनम्रतापूर्वक सुरक्षाकर्मीहरुलाई अनुरोध छ, मलाई दिएको फूलमध्ये सबैभन्दा बढी मगमगाउने फूल दिएर उहाँलाई घर पुर्याइदिनुहोला’ रविले भने, ‘सुरक्षाकर्मी साथीहरु मैले यतिञ्जेलसम्म विन्ति गरें, देशको पूर्व उपप्रधान तथा गृहमन्त्री भएका आधारले तपाईंलाई आदेश दिँदैछु कि साथीलाई सकुशल घर पुर्याइदिनुस् । यत्ति अधिकार मलाई दिनुहोला ।’

रविले आफूलाई लक्षित गरी हानिएको मकैको खोया मगाए । त्यही खोया देखाएर जनताको ढुंगा, खोया, गाली, ताली सबै सहन तयार भएर नै राजनीतिमा आएको बताए ।

अनि पोखरामा भएको सहकारीको समस्याबारे बोले । उनले कुनै पनि अपचलनमा आफू सहभागी नभएको स्पष्टीकरण दिए । किनकी जीबी राई नेतृत्वको समूहले खोलेको सूर्यदर्शन सहकारीले सार्वसाधारणको रकम अपचलन गरेको छ । र, राजनीतिमा आउनु अघि रवि एउटा टीभीमा थिए, जसमा जीबी राई र उनको समूहको लगानी थियो ।

शनिबार रविमाथि खोया प्रहार गर्ने व्यक्ति सूर्य दर्शनको बचतकर्ता भएको चर्चा भए पनि प्रहरीले इन्कार गरेकोे छ ।

रविले कास्की प्रहरी प्रमुख एसपी मोहन थापालाई फोन गरेको भिडियो समेत सार्वजनिक गरेका छन्, जसमा कास्की प्रहरी प्रमुख थापाले पक्राउ परेका व्यक्तिलाई मिडियाकर्मीसँग भेट्न नदिइएको र उनी सहकारी पीडित पनि नभएको दाबी गरेका छन् ।

कास्की प्रहरी प्रमुख थापाका अनुसार रास्वपा सभापति रविमाथि मकैको खोया प्रहार गर्ने व्यक्ति लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ का सन्तोष रानाभाट हुन् ।

उनी २ वर्ष अघिदेखि पोखरा बस्न थालेको जानकारी पाएको वछ । जागिर गर्न भनेर भारत हिँडेका उनका बुबा ३५ वर्षदेखि वेपत्ता रहेको, आमा पनि साथमा नरहेको र अहिले श्रीमती तथा बच्चा साथमा नभएको स्रोतले बतायो ।
अहिले रानाभाटलाई हिरासतमा राखेर उनको विषयमा अनुसन्धान भइरहेको छ ।
उनले सूर्यदर्शन सहकारीमा रकम जम्मा गरेको हुनसक्ने भए पनि एकिन जानकारी भएको छैन ।