बुटबल । अंग्रेजी नयाँ वर्ष २०२४को प्रारम्भ तथा पुष १५ को अवसरमा आयोजित पाँचौ ‘सडक खाना महोत्सव’मा आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । ‘नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्धन, विकास र रोजगारीको सृजना हाम्रो अभियान’ भन्ने नारासहित शनिवारदेखि सुरु गरिएको महोत्वसमा आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने गरेको हो ।
महोत्सवमा परम्परागत नेपाली खानाका परिकारले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गरेको होटल तथा रेस्टुरेन्ट व्यवसायीसंघका अध्यक्ष तथा महोत्सव आयोजक लेखनाथ भण्डारीले बताए । नेपाल बहु–जाती, बहु–सांस्कृतिक सम्पदाले भरिएको देश भएकाले खानाका परिकारद्वारा पर्यटकलाई नयाँ स्वाद दिन सकिने र यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनाको भनाई छ ।
‘सडकमै खाऔं, सडकमै नाचौँ र सडकमै रमाऔं’ भन्ने उदेश्यले आयोजना गरिएको महोत्सवमा बिभिन्न मौलिक परम्परागत खानाका साथै जातीय खानाको समेत स्वाद चाख्न पाईने महोत्सव आयोजक समिति सदस्य टंक प्रसाद पराजुलीले जानकारी दिए । महोत्सवले नेपाली खानाको प्रचार प्रसारका साथै टाट पल्टेको होटल ब्यवशायलाई समेत प्रवद्र्धन गर्न सहयोग गर्ने उनले बताए ।
त्यसो त, छिमेकी मुलुक भारतबाट समेत नेपाली खानाको स्वाद लिन आउनेको भिड लाग्ने गरेको उहाँको दाबी छ । उनी भन्छन्, भारतको यु.पी.बिहारबाट नेपाली खानाको स्वाद चाख्न कैयौँ भारतीय पर्यटकहरु आउने गरेका छन् । हामीले खानाको स्वाद मात्रै नभएर त्यसको गुणस्तर, मात्रा र स्वच्छतालाई निकै ध्यान दिएका छौँ ।’ पर्यटन प्रवद्र्धनसंगै नेपाली खानालाई बिश्व बजारसम्म चिनाउनका लागि महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने भएकाले महोत्सव बहुआयामिक रहेको उनको भनाई छ ।
महोत्सव संचालन गर्नका लागि ‘बुटवल उपमहानगरपालिका’ र ‘पर्यटन बिकास परिषद’ ले समेत सहयोग गरेको छ । बुटवलमा आयोजना गरिने जुनसुकै मेला तथा महोत्सवहरुले पर्यटकलाई आकर्षित गर्न मदत गरेको बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । नेपाल पर्यटकका लागि उपयुक्त गन्तब्य भएको भन्दै उनले नेपाली मौलिक खानाले समेत यसलाई टेवा पुर्याउन सक्ने दाबी गरे ।
खाना महोत्सवका लागि तीनकुनेदेखि नयाँ बसपार्कसम्मको एक किलोमिटर सडकका दाँया र बाँया ११० वटा स्टल राखिएका छन् । जहाँ विभिन्न जातजातिका खाना एकै ठाउँमा पाइने गरेको छ । थारु जातीमा प्रचलित घुँगी, ढीक्री, नेवारी जातीको योमरी, मःम, देखि मासको दालबाट बनाइएको जलेबी तथा परम्परागतरुपमा गाउँघरमा पाईने सेलरोटी समेत खान पाईने आयोजकले बताए ।
पछिल्लो समय सहरीकरणसँगै स्वच्छ खानेकुरा खोज्ने मानिस बढेकाले त्यसतर्फ व्यवसायीले ध्यान दिनुपर्ने उपभोक्ताको भनाइ छ ।