काठमाडौं । धारिलो हतियार खुकुरी प्रहार गर्ने एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सामान्य अभद्र व्यवहारको मुद्दा चलाएर उन्मुक्ति दिएको पाइएको छ । ज्यानै लिने उद्देश्यले खुकुरी प्रहार भएको घटनामा सलग्न मेरिङदेन गाउँपालिका ५ का ३० वर्षीय राजकुमार केदेमलाई ज्यान मार्ने उद्योगमा मुद्दा लगाउनुको सट्टा जिल्ला प्रहरी कार्यालयले अभद्र व्यवहारको अभियोग पत्र तयार पारी सिडिओ कार्यालयमा बुझाएर उन्मुक्ति दिएको पाइएको हो ।
गत कार्तिक २३ गते पाथीभरा दर्शन केवलकार निर्माण गर्न लागिएको भन्दै विरोधमा उत्रिएका स्थानिय जनतामाथि केवलकार कम्पनिका तर्फबाट खटिएका केदेमले स्थानिय अर्जुन लिम्बुमाथि खुकुरी प्रहार गरेका थिए । केदेमले प्रहरीमा दिएको बयान अनुसार उनले ३ पटक लिम्बुमाथि खुकुरी प्रहार गरेका थिए । गहिरो चोटबाट पीडित अर्जुनलाई तत्कालै उद्दार गरि झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । काफ्लेफाँटी ताप्लेजुङबाट पाथिभरा मन्दिरसम्म केवलकार निर्माण गर्न लागिएको विषयमा स्थानियबासीले विरोध गरिरहेका छन् । केवलकार कम्पनिका मालिक नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रभावका कारण अभियुक्त केदेमलाई सामान्य मुद्दा लगाइएको स्थानियको आरोप छ । जबकी खुकुरी प्रहार गर्ने अभियुक्तमाथि ज्यान मार्ने उद्योगको मुद्दा चलाउने कानुनी अभ्यास छ । पीडित अर्जुन लिम्बुले दिएको जाहेरी समेत नलिएको प्रहरीले सिडिओ कार्यालयमा भने पछि थप जाहेरी आए कानुन अनुसार भैजाने भन्दै प्रतिवेदन बुझाएको छ ।
पक्राउ परेका अभियुक्त केदेमले बयानका क्रममा आफूले ३ पटकसम्म खुकुरी प्रहार गरेको बयान दिएपछि सोही बयानलाई आधार बनाएर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्नुपर्नेमा प्रहरीले अभियुक्तको बयानलाई सामान्य अभद्र व्यवहारको मुद्दामा परिवर्तन गरेको छ । खुकुरी प्रहारबाट गम्भिर घाइते भएका लिम्बु हालसम्म पूर्ण स्वस्थ भइसकेका छैनन् । ढकाल समुहद्वारा परिचालित व्यक्तिहरुले स्थानियहरुमाथि अन्दाधुन्ध हतियार प्रहार गरेको यो घटनाले देखाउँछ । प्रहरी र सरकार भने लिम्बु सभ्यताको संरक्षणमा आएका अभियानताहरुलाई धरपकड गर्नेदेखि दमन गरिरहेको छ । तर, हतियार नै लिएर अभियान्ताहरुमाथि प्रहार गर्ने व्यक्तिहरुलाई भने सरकारले नै उन्मुक्ति दिएको देखिएको छ ।
केदेमलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ (१) बमोजिम कसुर गरेको भन्दै सोही संहिताको दफा ११८ को (२) बमोजिम एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को दफा १८३ (१) मा कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्न हुँदैन भनि उल्लेख गरिएको छ । धारिलो हतियार प्रहार भएका यस्ता घटनामा प्रहरी र सरकारी वकिल कार्यालयले मुलुकी अपराध सहिताको १८२ उपदफा २ (१) अनुसार १० वर्ष कैद र एक लाख जरिवाना गराउने अभियोगन लिएर जाने गरेको छ । तर, लिम्बुमाथि खुकुरी प्रहार गर्ने केदेमलाई भने साधारण मुद्दा लगाएर छुट दिइएको छ ।