काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ नेपाली उच्च पदस्थसहित एक कम्पनि विरुद्ध मुद्दा दायर गरेको छ । नुवाकोटबाट पूर्वअर्थमन्त्री रामशरण महत र पूर्वपर्यटन मन्त्री स्वर्गिय पोष्ट बहादुर बोगटीलाई समेत भ्रष्टाचार मुद्दा लागेको छ । बोगटीको हकमा उनकी श्रीमती राममाया बोगटीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।
तत्कालिन नेकपा माओवादीबाट पटक पटक सरकारमा पुगेका बोगटी जीवित रहँदा कुनै अभियोग लागेको थिएन । तर, उनको मृत्यु भएको वर्षौंपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारमा मृतक बोगटीकी पत्नि राममाया बोगटीले आफ्नो श्रीमानको २०७१ साल भदौ ३० गते निधन भएको र जीवनभर आफ्नो पतिले ईमान्दारीतापूर्वक काम गरेको बयान दिएकी छिन् ।
‘उहाँको हकदार म मात्रै हुँ । मन्त्री हुनुहुन्थ्यो हाल कार्यकालको विषयमा स्मरण भएन । संवैधानिक निकाय प्रति मेरो पूर्ण विश्वास छ । मेरो श्रीमान एउटा आदर्शको जीवन बाँचेर अमर हुनु भएको छ,’ उनले बयानमा भनेकी छिन्,‘मलाई विश्वास छ , उहाँबाट जानी जानी कुनै गल्ती भएको छैन हैन ।’