काठमाडाैं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकामा भएको भ्रष्टाचारको मुद्दामा पूर्वपर्यटनमन्त्री दीपक चन्द्र अमात्यले आफूले कुनै पनि काम गलत नियतका साथ नगरेको बयान दिए।
वर्षौंदेखि चर्चामा रहेको विमानस्थल निर्माणकार्यबारे अमात्यले बयानमा भनेका छन् “मैले पूरा प्रक्रिया अनुसार मात्र काम अघि बढाएको हुँ। मन्त्रालयमा आएको फाइललाई नियमअनुसार पदीय जिम्मेवारीका आधारमा अगाडि बढाएँ।” २०७१ साल कात्तिक ९ गते आफूले पेश गरेको प्रस्ताव र कात्तिक १० गते मन्त्रिपरिषद्मा भएको निर्णय एउटै हो कि फरक यो विषयमा आफूलाई स्पष्ट जानकारी नभएको उनले बताए। “मैले कुनै पनि काम गलत नियतले गरेको छैन।”अमात्यले भने ।

तत्कालीन नेकपा एमालेबाट पर्यटनमन्त्री भएका अमात्यले २०७२ जेठमा मन्त्री पदबाट राजीनामा दिएका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ नेपाली उच्च पदस्थसहित एक कम्पनि विरुद्ध मुद्दा दायर गरेको छ ।