काठमाडौं, १६ मंसिर । एनआईसि एशिया बैंकको धादिङ शाखाले गत वर्ष स्थानिय कल्पना रुवालीलाई आकर्षक तलबसहित कन्ट्याक्ट स्टाफको रुपमा भर्ती गर्यो ।
२ वर्षे आफ्नो बच्चालाई घरमै छोडेर कल्पना बैंकको ग्राहक बनाउँदै हिँडिन् । उनीसँगै माला आमात्य र सविता लोहनी पनि सोही तलबमा ‘कन्ट्रयाक्ट स्टाफ्’को रुपमा ग्राहक बनाउने काममा लागे ।
बैंकको जागिर, आकर्षक तलब र उज्वल भविष्यको आसमा उनीहरु दिनरात ग्राहक बनाउन खटिए । कल्पनाले १८ सय जनाभन्दा बढी ग्राहक बनाइन् । तर काम गरेको ६महिनासम्म एनआइसि एशिया बैंकले तलब दिएन उल्टै ६ महिना काम लगाएपछि कामबाटै निष्काशन गरिदियो ।’
निष्काशन भएपछि उनीहरुले बैंक विरुद्ध मुद्दा गर्ने सल्लाह गरे । तर, केही बेरमा त्यो खबर काठमाडौं स्थित एक सञ्चार माध्यममा पुग्यो । सञ्चारमाध्यमका एक प्रतिनिधिले फोन गरेको केही बेरमै एनआईसि एसिया बैंकका धादिङ शाखा प्रमुख प्रमोदराज कँडेलले तुरुन्तै तलब दिने बताए । र अर्को दिन तलब दिए ।
धादिङमा मात्रै होइन एनआइसि एशिया बैंकको देशैभर कर्मचारीमाथि चरम श्रम शोषण हुने गरेको पाइएको छ । ‘हामी उज्वल भविष्यका लागि भनेर एनआइसि एशिया बैंकमा करारमा भर्ति भयौँ तर, काम थालेको ६ महिनामै हामीलाई निष्काशन गरियो,’ एनआइसि एशियाबाट निष्काशन भएका एक पूर्व कर्मचारीले भने,‘मैले मात्रै होइन यहाँ सबैले करारमा काम गरिरहेका छन् ।’
टेलिभिजन पर्दामा चलचीत्र नायिकाहरु ‘बैंक पनि साथी पनि, सोच बदलौँ’ जस्ता खोक्रा नारा दिएर चर्चामा रहेको एनआइसि एशिया बैंकमा कार्यरत कर्मचारीको भने भविष्य संकटमा छ ।
‘म विगत केही वर्ष देखि यहाँ करार सम्झौताको आधारमा कार्यरत छु । मेरो भविष्य यहाँ सुनिश्चित छैन,’ इन्टरनल अडिट डिपार्टमेन्टमा कार्यरत एक कर्मचारीले भने,‘यहाँ कार्यरत अधिकांश कर्मचारीको भविष्यमाथि खेलवाड भइरहेको छ ।’
एनआईसि एशिया बैंकमा कार्यरत पूर्व कर्मचारी कल्पना रुवालीले बैंकले आफ्नो भविष्य नै बर्बाद पारिदिएको बताइन् ।
‘म लगायत हामी तीन जना कर्मचारीलाई बैंकको कन्ट्याक्ट स्टाफ’को रुपमा जागिर दिनु भएको थियो । तर, महिनौँ सम्म काम लगाएर तलब दिनु भएन,’रुवालीले दियोपोस्टसँग भनिन्,‘विहानदेखि बेलुकासम्म ग्राहक बनाउँन हिँडेका थियौँ ।’
तल्लो तहका कर्मचारीलाई ग्राहक संख्याको आधारमा बढुवा र तलब निर्धारण गर्ने बैंकको नीति छ ।
‘जति ग्राहक बढायो त्यति फाइदा हुन्छ भनिएको थियो । तर, अन्तिममा आएर हामीलाई तलब नै नदिई निकालियो,’ पीडित रुवालीले भनिन्,‘करिब साँढे तिन महिना काम गरेपछि सर (ब्रान्च म्यानेजर)ले तपाईंहरु जानुस् भन्नु भयो ।’
उनले आफ्नै खर्चमा बैंकको काममा हिँडेको र बैंकले आफूहरुलाई ‘एक पैसा पनि’ नदिएको गुनासो पोखिन् ।
दुई सन्तानकी आमा बनिसकेकी रुवालीले सन्तानलाई छाडेर दैनिक १४ घण्टा बैंकले दुख दिएको गुनासो पोखिन् छन् ।
करारले निम्त्याएको ४१ ‘करोडकाण्ड’
एनआइसि एशिया बैंकमा गत वर्ष एउटा ठूलो घोटाला काण्ड निम्तिएको थियो–स्वीफ्ट ह्याक’ । २०७४ कार्तिकमा तिहारकै समयमा एनआइसि एशिया बैंकमा स्विफ्ट ह्याक’ काण्ड मच्चिएको थियो । स्रोतका अनुसार करार सम्झौतमा कार्यरत तीन जना कर्मचारीले जागिर छाडेसँगै यो समस्या निम्तिएको थियो ।
सोसाइटी फर वेलफेयर अर्गनाइजेसनले एउटा बैंकबाट अर्को बैंकमा रकम पठाउने प्रणाली जसलाई द सोसाइटी फर वर्ल्ड वाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन९स्विफ्ट० भनिन्छ । सोही प्रणालीबाट एनआइसि एशिया बैंकले विभिन्न विदेशी बैंकमा जम्मा गरेको रकमबाट ४१ करोड रुपैयाँ ट्रान्सफर भएपछि यो काण्ड बाहिर आएको थियो । स्रोतका अनुसार यो प्रकरणका बैंककै कर्मचारीको मिलेमतो थियो ।
बैंकबाट करार सम्झौताका आधारमा निकालिएका कर्मचारीकै युजर नेम र पासवर्डका आधारमा स्विफ्ट ह्याक भएको थियो । ‘करारमा काम लगाउनाले यो समस्या आएको हो,’ बैंकमा कार्यरत एक कर्मचारीले भने,‘कर्मचारीलाई करारमा लगाउँदा बैंकले ठूलो क्षेती बेहोर्नु परेको छ ।’
ग्राहकलाई यसरी झुक्याइन्छ
एनआईसि एशिया बैंकले ग्राहकलाई खाता खाल्नु अघि ऋणको ब्याजदर ११ प्रतिशत भन्ने गरेको छ । तर, ग्राहकले ऋण लिइसकेपछि भने १५ देखि १८ प्रतिशतसम्म लिने गरेको छ ।
यो पनि पढ्नुहोस्