यसरी बन्दै छ झमकलाई घर

दियो पोस्ट  

काठमाडौं, मंसिर १७ । पहिलो तलामा सुत्नेकोठा, अट्याच बाथरुम, बैठककोठा, पुस्तकालय र भान्साकोठा । दोस्रो तलामा एउटा ठूलो सुत्ने कोठा । पाहुना र परिवारका लागि छुट्टाछुट्टै कोठा । तेस्रो तलामा दक्षिण फर्केको कौसी । अनि ठूलो सभाकक्ष । सबै तलामा लिफ्टबाटै जान सकिने सुविधा । मदन पुरस्कारविजेता साहित्यकार झमक घिमिरेका लागि अहिले सरकारले बनाइदिँदै गरेको घरको डिजाइन हो, यो ।

झमकका लागि गोठाटारस्थित पशुपति विकास कोषको १२ आना एक पैसा जग्गामा घर बन्दै छ । सरकारले उनका लागि घर बनाउने निर्णय तीन वर्षअघि नै गरेको हो । आनन्द पोखरेल संस्कृति तथा पर्यटनमन्त्री हुँदा घर बनाउने प्रक्रिया अघि बढेको थियो ।

तर, जग्गा विवाददेखि बजेटको अन्योलले ठेक्का लाग्नै ढिला भयो । अहिले भने दुई तला ढलान भइसकेको छ । घर निर्माणबारे बुझ्न प्रधानमन्त्री केपी ओलीपत्नी राधिका शाक्य वेलावेलामा गोठाटार पुग्ने गरेकी छिन् । केही दिनअघि पनि उनी झमक घिमिरे साहित्यकला प्रतिष्ठानका पदाधिकारीसहित निर्माण अवलोकनमा गइन् ।

प्रधानमन्त्री ओली र पत्नी राधिकाले घर निर्माणमा विशेष चासो राख्ने गरेका छन् । ओलीकै पहलमा सरकारले उनलाई घर बनाइदिने भएको हो । राधिकाले झमकलाई छोरी मानेका कारण पनि उनले घर निर्माणमा चासो राखेकी हुन् ।

भूकम्पप्रतिरोधी हुने

झमकका लागि बनिरहेको भवनको एउटै पिलरमा २० बोरासम्म सिमेन्ट हालेर बनाइएको छ । १६ इन्च मोटा डन्डी प्रयोग गरिएको छ । पिलरका लागि जमिनमुनि सामान्यतया पाँच वर्गफिटको जाली बनाइन्छ । तर, यो भवनका लागि १० वर्गफिटको जाली राखिएको ठेकेदार कम्पनी ज्ञानज्योति बिल्डर्सका दीपक पराजुलीले बताए ।

भवन निकै सुविधासम्पन्न बन्नेछ । साढे तीनतले भवनको तेस्रो तलासम्म लिफ्ट हुनेछ । पहिलो र दोस्रो तलामा पाँच–पाँच कोठा हुनेछन् । अन्तिम तलामा कौसी र सभाकक्ष हुनेछ । झमकको शारीरिक अवस्थालाई ध्यानमा राखेर भवन बनाइएको तत्कालीन सहरी विकास तथा भवन निर्माण काठमाडौं डिभिजन कार्यालयका सब–इन्जिनियर अनिल शाक्यले बताए ।

उनका अनुसार झमकले पहिलो तला प्रयोग गर्ने गरी घरको डिजाइन गरिएको छ । यहाँ सुत्ने कोठा, पुस्तकालय, अध्ययनकोठा, भान्सा र बैठककोठा हुनेछन् । दोस्रो तलामा पनि उनका लागि एउटा कोठा हुनेछ । उनको हेरचाहमा बस्ने परिवारका लागि दोस्रो तलामा नै बस्ने व्यवस्था हुनेछ ।

हरेक कोठाका झ्याल झमकले खोल्न सकिने गरी बनाइनेछ । झ्याललाई कोठाको तल्लो तहमा नै राखिने हुनाले उनलाई खोल्न र बन्द गर्न समस्या नहुने सब–इन्जिनियर शाक्यले बताए । झ्यालमा बसीबसी बाहिरका दृश्य हेर्न मिल्नेछ ।

सडक भने कच्ची

झमकका लागि बन्दै गरेको घरसम्म पुग्न अहिले गोठाटार पुलसँग जोडिएको सडक प्रयोग भइरहेको छ । त्यही सडकबाट सामग्री ढुवानी हुन्छ । तर, स्थानीयका अनुसार यो चलनचल्तीको बाटो होइन । नक्सामा पनि यो जग्गा पशुपति विकास कोषकै देखिन्छ । झमकको घर पुग्न २० फिटे अर्को सडक छ ।

तर, यो सडक ग्राभेल हुनै बाँकी छ । दक्षिणतिरबाट जोडिएको हुनाले घुमाउरो पनि छ । त्यहीकारण अहिले गोठाटारको पुल हुँदै सामग्री ढुवानी भइरहेको ठेकेदार दीपकले बताए । पानीका लागि भने बोरिङ गाडिसकिएको छ । बोरिङको पानी खान मिल्छ वा मिल्दैन भन्ने परीक्षण हुन बाँकी छ ।

स्वामित्व पशुपति विकास कोषकै

पशुपति विकास कोषले झमकका लागि घर बनाउन जग्गा उपलब्ध गराए पनि स्वामित्व हस्तान्तरण गरेको छैन । झमकका लागि भोगाधिकार मात्र दिइएको कोषले जनाएको छ । झमकको शेषपछि भवन कोषकै हुने एक कर्मचारीले बताए । तर, सरकारले निर्णय गरेर ट्रस्ट बनाउन सक्ने ती कर्मचारीको भनाइ छ ।

झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंले पनि झमकको घरलाई ट्रस्ट बनाउन सकिने बताए । त्यो भविष्यमा गर्न सकिने कुरा भएको हुनाले तत्काल भने झमकका लागि उचित वासस्थान जरुरी भएको उनको भनाइ छ ।

बजेटविनै काम

भवन निर्माणको जिम्मा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय काठमाडौंले पाएको थियो । तर, यतिवेला सो कार्यालय नै खारेज भएको छ । अब प्रदेशको भौतिक योजना मन्त्रालयमातहत त्यही प्रकृतिको कार्यालय स्थापना हुने भएको छ । तर, भइसकेको छैन ।

संघमातहतको कार्यालय प्रदेश सरकारमातहत सरेपछि झमकको घर बनाउने जिम्मा पनि प्रदेश सरकारमा पुग्यो । बजेट पनि प्रदेश सरकारतिर गयो । तर, प्रदेशको भौतिक योजना मन्त्रालयले सोसम्बन्धी कार्यालय स्थापना गरेकै छैन । जसका कारण बजेट अलपत्र छ ।

निर्माण कम्पनीले भने बजेटविनै काम धमाधम गरिरहेको छ । आफूहरूले बिल पेस गर्ने तयारी गर्दै गर्दा भवन निर्माणको जिम्मा प्रदेशमा सरेपछि बजेट नपाएको ज्ञानज्योति बिल्डर्सका दीपकले बताए । ‘अहिले त कार्यालय नै छैन, कहाँ बिल पेस गर्ने ? तर, हामीले काम रोकेका छैनौँ,’ उनले भने ।
ज्ञानज्योतिले भ्याटबाहेक एक करोड ८० लाखमा ठेक्का लिएको हो । अहिलेसम्म दोस्रो तला ढलान भइसकेको छ । तेस्रो तला ढलानको तयारी छ । अहिलेसम्म आफूहरूको करिब ६५ लाख खर्च भइसकेको दीपकले बताए ।

अब १५ दिनभित्रै बजेट निकासा हुने आफूले जानकारी पाएको उनको भनाइ छ । प्रदेशमा सरेको झमकको घर निर्माणको बजेट संघले आफूमातहत नै ल्याउने भएको छ । छिट्टै मन्त्रिपरिषद्ले निर्णय गरेर जिम्मेवारी संघमातहत ल्याउने भएको हो ।

झमकले पहिलो तला प्रयोग गर्ने गरी डिजाइन गरिएको छ । यहाँ सुत्ने कोठा, पुस्तकालय, अध्ययनकोठा, भान्सा र बैठककोठा हुनेछन् । दोस्रो तलामा पनि उनका लागि एउटा कोठा हुनेछ । उनको हेरचाहमा बस्ने परिवारका लागि दोस्रो तलामा नै बस्ने व्यवस्था हुनेछ ।

सुरुदेखि नै लफडा

झमकलाई घर बनाउने निर्णय भएको तीन वर्षसम्म पशुपति विकास कोषले जग्गा उपलब्ध गराउन सकेन । पछि कोषले उपलब्ध गराएको जग्गा विवादित भयो । कोषले देखाएकै जग्गालाई आधार मानेर सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियरले घरको नक्सा बनाएका थिए ।

ठेक्का पनि लाग्यो । ठेकेदार कम्पनी ज्ञानज्योति बिल्डर्सका सञ्चालक दीपक पराजुली जग्गा नापजाँचका लागि पुगे । तर, कोषले दिएको जग्गा दाबी गर्दै एक स्थानीय लालपुर्जा र नक्सा लिएर आए ।

दीपकले भने, ‘मैले पशुपति विकास कोषका सदस्यसचिवलाई भेट्न सल्लाह दिएँ । कोषले फेरि जग्गा छुट्याउनुपर्ने भयो । तर, विवाद मिलेन । अनि सहरी विकास तथा भवन निर्माण विभागले नै पत्र लेखेपछि मात्र हामीले जग्गा पायौँ । विवादकै कारण दुई महिनासम्म काम रोकियो ।’ त्यतिमात्र नभई पहिले तयार गरेको नक्सा नै परिवर्तन गर्नुपरेको थियो ।

ज्ञानज्योति बिल्डर्स र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय काठमाडौंबीच गत १४ जेठमा घर निर्माणको सम्झौता भयो । विवादपछि कोषले १ साउनमा मात्र जग्गा उपलब्ध गराउन सकेको ज्ञानज्योतिका दीपकले बताए । आफूहरूले १० साउनबाट निर्माणको काम थालेको उनले जानकारी दिए ।

अन्योल कायमै

निर्माणको जिम्मा संघमा आउने भए पनि अन्योल भने कायमै छ । यसअघि निर्माणको जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागको काठमाडौं डिभिजन कार्यालय खारेज भइसकेको छ ।

सो कार्यालयका सब–इन्जिनियर अनिल शाक्यले निर्माणको रेखदेख गरिरहेका थिए । कार्यालय खारेज भए पनि अहिले आफूले नै हेरिरहेको शाक्यले बताए । तर, अब कुन निकायअन्तर्गत काम हुने भन्नेमा अन्योल छ ।

संघअन्तर्गत आएपछि छुट्टै आयोजना बनाएर पनि काम हुन सक्ने शाक्यले बताए । के मातहतमा कसरी काम हुने भन्ने मन्त्रिपरिषद्ले नै निर्णय गर्ने उनको अनुमान छ ।

काठमाडौं सर्छिन् त झमक ?

निहुरिएर लेख्ने–पढ्ने गर्दा झमकको ढाडमा समस्या भएको छ । हड्डी बांगिएका कारण धेरै ननिहुरिन डाक्टरले सुझाब दिएका छन् । ढाडको दुखाइ बढ्दै गएको छ । उनी अहिले पनि नियमित औषधि सेवन गर्छिन् । डाक्टरले दुई वर्षअघि नै नियमित फिजिओथेरापी गर्न सुझाब दिएका थिए । तर, काठमाडौं बसाइ नहुँदा उनले थेरापी गर्न पाएकी छैनन् ।

तर, तत्कालै काठमाडौँ आउनेबारे आफूले सोचिनसकेको उनले बताएकी छिन् । हाल उनी धनकुटा नगरपालिका वडा नं. ६ कचिडेस्थित घरमा बसेर साहित्य साधना गरिरहेकी छिन् । उनको घरसम्म सडक पुगेको छ । तर, कच्ची मात्र । वर्षामा गाडी जान मुस्किल पर्छ ।

करिब चारसय मिटरमाथि नै रोकिन्छ । झमकको घरसम्म पुग्ने सडक सकेसम्म पिच गरिदिन वा ग्राभेल मात्र भए पनि गरिदिन प्रदेश सरकारलाई आग्रह गरिएको झमक घिमिरे साहित्यकला प्रतिष्ठान अध्यक्ष गोपाल गुरागाईंले जानकारी दिए । सोमबारको नयाँपत्रिका दैनिकमा खबर छ ।