तीन सय जेब्राक्रस, तीनवटा मात्रै ट्राफिक बत्ती

दियो पोस्ट  

काठमाडौं, मंसिर २५ । उपत्यकाभित्र करिब ३ सय जेब्राक्रस छन्, तर ट्राफिक बत्ती भने तीनवटामा मात्रै सञ्चालित छन् । नयाँ बानेश्वर, महाराजगन्ज चोक र भक्तपुरको कौशलटार चोकको जेब्राक्रसमा मात्रै ट्राफिक बत्तीले काम गर्छन् ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार थापाथलीको जेब्राक्रस उपत्यकामा सबैभन्दा व्यस्त हुन्छ । बिहान र बेलुकाको ‘पिक आवर’मा मात्रै थापाथली जेब्राक्रसबाट दैनिक १५ हजार चार सयले बाटो काट्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको अध्ययनले देखाएको हो ।

महाशाखाले बिहान ९ देखि ११ र साँझ ३ देखि ६ बजेसम्म २२ वटा जेब्राक्रसबाट बाटो काट्नेको संख्या गणना नै गरेर तथ्यांक निकालेको छ । थापाथलीपछि सिंहदरबार, पुतलीसडक, कुमारी बैंक, पद्मोदय मोड र माइतीघरको जेब्राक्रस बढी व्यस्त रहने गरेको देखिएको छ । यी जेब्राक्रसबाट बिहान र साँझको ५ घन्टामा मात्रै ११ हजारभन्दा बढीले बाटो काट्छन् ।

ट्राफिक महाशाखाको तथ्यांकअनुसार २२ जेब्राक्रसबाट ५ घन्टामा ७७ हजार सर्वसाधारणले सडक वारपार गर्छन् ।

जेब्राक्रसबाट बाटो काट्नेको संख्या किन गन्यो ट्राफिकले ?
महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले उपत्यकाको ट्राफिक जाम हटाउने विकल्प निकाल्न ‘पिक आवर’मा जेब्राक्रस प्रयोग गरेर आवागमन गर्ने सर्वसाधारणको संख्या गनिएको बताए । ‘उपत्यकाका केही स्थानमा मात्रै ओभरहेड ब्रिज छन् । तर, व्यस्त मानिने चोकमा यो सुविधा छैन । हामीले ती ठाउँहरूमा यात्रुको चाप बुझ्न गणना ग-र्यौँ,’ एसएसपी पन्तले भने, ‘हामी ओभरहेड ब्रिज वा अन्डर पास वेको आवश्यकता सरकारलाई तथ्यांककै आधारमा दिन खोजिरहेका छौँ ।’

अन्य जेब्राक्रसको पनि तथ्यांक निकाल्ने
महाशाखाले पहिलो चरणमा २२ जेब्राक्रसबाट बाटो काट्नेको संख्या मात्रै गणना गरे पनि अध्ययन नसकिएको जनाएको छ । महाशाखाका प्रवक्ता एसपी जय सापकोटाले भने, ‘गणनाको काम सुरु भएको तीन–चार दिन मात्रै भएको छ । अहिले २२ चोकमा मात्रै काम भएको छ, अब अन्यमा पनि सुरु हुन्छ । तथ्यांक संकलन र विश्लेषणपछि मात्रै प्रतिवेदन बन्नेछ ।’ सबै तथ्यांक संकलन गरेपछि प्रहरी प्रधान कार्यालय हुँदै गृहमा बुझाउने उनको भनाइ छ ।

यात्रु अनुशासित छैनन्
महाशाखाका अनुसार उपत्यकाका सर्वसाधारणलाई जेब्रा क्रसबाटै सडक पार गर्नुपर्ने चेतना छ । तर, उनीहरू अनुशासित छैनन् । यसको असर ट्राफिक व्यवस्थापनमा परेको छ । प्रवक्ता सापकोटाले भने, ‘यात्रुलाई सडक पार गर्दा जेब्रा क्रसबाटै गर्नु पर्ने जानकारी छ । तर, अनुशासित भएर पार गर्नुपर्ने चेत छैन । यही कारण धेरै दुर्घटना भएका छन्, कतिको मृत्युसमेत भएको छ ।’

बिहान ९ देखि ११ र साँझ ३ देखि ६ बजेसम्म दैनिक पाँच घन्टामा यात्रु
-थापाथली : १५,४००
-सिंहदरबार, पुतलीसडक, कुमारी बैंक, पद्मोदय मोड, माइतीघर : ११,२२१
-कमलपोखरी, ल्होत्से चोक : १०,७७०
-कोटेश्वर, तिनकुने, नयाँबानेश्वर : ९,०००
-नयाँ बस पार्क, सामाखुसी चोक : ८,०००
-दरबार मार्ग, लैनचौर : ६,५००
-सुकेधारा : ३,५००
-गौशाला, चाबहिल, मित्रपार्क : ३,४०१
-कालिमाटी चोक : ९००
-जावलाखेल, कुपन्डोल : १८०