काठमाडौं, मंसिर २५ । राजस्व अनुसन्धान विभागले प्रधानमन्त्री कार्यालय मातहत आएपछि राजस्व छलीमा संलग्न ४२ वटा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ।
विभागले ती फर्म र सम्बन्धित ७७ जनाविरुद्ध पाँच अर्ब ७७ करोड १७ लाख रुपैयाँ बिगो र तीन वर्ष जेल सजाय माग दाबीसहित अदालतमा मुद्दा दायर गरेको छ। ती फर्मबाट तीन अर्ब २७ करोड ५२ लाख रुपैयाँ धरौटी रकम माग गरिएको छ। धरौटीबापतको उक्त रकममध्ये २२ करोड ५७ लाख ९८ हजार रुपैयाँ दाखिला भइसकेको विभागले जानकारी दिएको छ। कारबाहीमा पर्नेमा भन्सारका कर्मचारी, भन्सार एजेन्ट र व्यापारी छन्।
विभागले रसुवा भन्सारबाट एडिडास ब्रान्डका सामान पैठारी गरी ७५ करोड राजस्व छली गर्ने मितेरी इन्टरनेसनल नामक कम्पनी, कम्पनीका सञ्चालक, भन्सारका कर्मचारी र त्यसमा संलग्न व्यक्तिविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। विभागले उक्त छलीमा संलग्नविरुद्ध कुल ७५ करोड ९६ लाख ३१ हजार रुपैयाँ बिगोसहित र जनही तीन वर्ष कैद माग गर्दै मुद्दा दायर गरेको हो। त्यसमा रसुवा भन्सारका अधिकृत पवित्रकुमार खड्का, भन्सार जाँचकी धिरजकुमार थापा, कम्पनीका सञ्चालक रञ्जन त्रिपाठी र सुमन श्रेष्ठ परेका छन्। विभागले उनीहरुलाई तीन वर्ष कैदसहित जनही सात करोड ५९ लाख ६३ हजार रुपैयाँ बिगो रकम तथा १५ करोड १९ लाख २६ हजार रुपैयाँ जरिवानाको माग दाबी प्रस्तुत गरेको छ। त्यसैगरी सामान पैठारीमा सहयोग गर्ने धनबहादुर तामाङ र डम्बरबहादुर श्रेष्ठलाई पनि जनही सात करोड ५९ लाख ६३ हजार रुपैयाँ बिगो रकम र सोही बराबरको जरिबाना तथा तीन वर्ष कैद माग गरिएको छ।
त्यसैगरी, दूध तथा घिउको नक्कली भन्सार प्रज्ञापनपत्र बनाइ चोरी पैठारी गरेको तथा नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरी राजस्व छली गरेको अभियोगमा रविन्द्र गुप्तासमेत २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। उनीहरुबाट १० करोड २० लाख रुपैयाँ बिगो तथा जरिवाना असुल गर्नुपर्ने माग दाबी विभागले प्रस्तुत गरेको छ। उक्त मुद्दामा प्रमुख भन्सार अधिकृत जनार्दन आचार्य, अधिकृत बटुकृष्ण अधिकारी, जाँचकी वसन्तकुमार सुवेदी, भन्सार एजेन्ट दिनेशकुमार बानियाँ, कम्प्युटर अधिकृत चन्द्रबहादुर क्षेत्री, भन्सार सहायक जितबहादुर श्रेष्ठ र रामबहादुर थापासमेत परेका छन्। उनीहरूबाट जनही ४६ लाख ४० हजार रुपैयाँ बिगो र जरिवाना माग गरिएको छ।
यसअघि विभागले हिमालयन कार्गोका सञ्चालक विनोदकुमार गुप्ताविरुद्ध कर छली गरेको दाबीसहित दुई अर्ब ७२ करोड रुपैयाँ बिगो र जरिवाना असुल गर्न तथा तीन वर्ष कैदको मागसहित गत भदौ १ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो। उक्त कम्पनीले सरकारलाई बुझाउनुपर्ने रकम नबुझाइ आव ०६५र६६ देखि ०७४र७५ सम्म ५४ करोड ४२ लाख रुपैयाँ बराबर कर छली गरेको विभागले दाबी गरेको छ।
राजस्व छलीकै अभियोगमा सुभाना इन्टरनेसनलबाट १८ करोड आठ लाख रुपैयाँ र त्यसमा संलग्नविरुद्ध तीन वर्ष कैद माग गरी अदालनमा मुद्दा दायर गरिएको छ। आयात प्रज्ञापनपत्र तथा भन्सार तिरेको बिल नभेट्टाएपछि गोरखाको चुमनुब्रीबाट १० किलो ७७६।१ लाल सुुनसहित पक्राउ परेका छिरिङ लामा र लोप्साङतेन्गे लामाबाट ५४ करोड २७ लाख ५७ हजार रुपैयाँ बिगो र जरिवानासहित तीन वर्ष कैदको माग्दै अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ। अवैध सुन कारोबारमै संलग्न अभियोगमा विभागले बहादुर तामाङविरुद्ध १२ करोड ४५ लाख २५ हजार रुपैयाँ बिगो दाबीसहित अदालतमा मुद्दा दायर गरिएको छ।
त्यसैगरी, विदेशी मुद्राको अवैध कारोबार तथा हुन्डी कारोबारमा संलग्न आरोपमा अरुणकुमार दास, रोशनकुमार महरा लगायतविरुद्ध दुई अर्ब २० करोड ४२ लाख ६० हजार रुपैयाँ बिगो जरिवाना तथा तीन वर्ष कैद मागसहित मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ।