पृथ्वीनारायणको शालिकको तरबार चोरियो !

दियो पोस्ट  

काठमाडौं, मंसिर २६ । देवीघाटस्थित पृथ्वीनारायण शाहको शालिकमा रहेको तरबार चोरी भएको छ । विदुर नगरपालिका–५ स्थित शालिक स्मारकमा बिहीबार राति तरबार भाँचेर लगिएको थियो ।

‘बालाचतुर्दशीको राति चौसट्ठीमा बत्ती बाल्ने भीड थियो,’ स्मारकमा हेरालु काम गर्दै आएका रामेश्वर नेपालले भने, ‘भोलिपल्ट सात बजे हेर्दा तरबार देखिएन। हाकिमलाई जानकारी गराएँ।’ तरबार नदेखिएपछि नजिक रहेको देवीघाट प्रहरी चौकीलाई खबर गरेर खोजबिन गर्दा नभेटिएको उनले बताए।

तरबार चोरिएपछि श्रीपेच चोरी हुने डर उनलाई छ। ‘श्रीपेच त सजिलै फुत्त आउँछ,’ उनले भने, ‘राति यहाँ बत्ती राख्न भनियो। कसैले सुनेनन्।’ शालिक रहेको ठाउँ राति अन्धकार हुन्छ। वरिपरि हुर्केका सिसौ, आँप, कटहर, लिच्चीका रूख र बोट छन्। त्यसले छेकेको छ। ‘खोजेको खोज्यै छौं,’ हेरालु नेपालले भने, ‘भेटिएको छैन।’

प्रहरीचौकी देवीघाटका इञ्चार्ज युवक गिरीले स्मारक वरिपरि, बजार क्षेत्र, त्रिशूली नदी किनार सबै ठाउँ खोजिएको बताए। राजा पृथ्वीनारायण शाहले साना राज्य एकीकरण गरेपछि अन्तिम समय १८३१ माघ १ गते यही शालिक रहेको ठूलो ढुंगामा देहत्याग गरेको इतिहास छ। पछि सोही ढुंगामा पश्चिम मोहडा फर्किएको शालिक निर्माण राखिएको थियो। स्मारक ७ रोपनी जग्गामा फैलिएको छ।

स्मारकमा यहाँ आउने स्वदेशी तथा विदेशीले पर्यटकले शालिकमै गएर फोटो खिच्ने गर्छन्। स्मारक वरिपरि लगाइएको पर्खाल होचो छ। चारैतिर ढोका छन्। ती ढोकाहरूमा खिया लागेर पुराना भएका छन्। स्मारक रेखदेखका लागि पालेघर भए पनि भूकम्पले भत्केको छ।

तरबार चोरी भएपछि नक्कली तरबार राखिएको छ। देवीघाटका स्थानीय शिव रिजालले फलामे तरबार नट बोल्टले जोडेर राखेको बताए। ‘पुरानो तारबार किटको हालेको रहेछ,’ उनले अनुमान लगाउँदै भने, ‘त्यो तरबार एक/दुई जनाले भाँच्न सक्ने खालको देखिँदैन।’ नक्कली तरबार विदुर नगरपालिकाले भनेर आफूले बनाई हालेको रिजालले जानकारी दिए।