कांग्रेसमा गगन, प्रदीप, गुरु र कल्याणहरुले जब सुन्दर मौका गुमाए !

Diyo post  

काठमाडौं, मंसिर २८ । १३ औं महाधिवेशन अघिसम्म कांग्रेसमा सभापति शेरबहादुर देउवाले पार्टी विधि विधान र पद्धतिमा नचलेको भन्दै विरोधमात्रै गरेनन् । कैयौंपटक बैठक बहिष्कार गर्नेदेखि हरेक निर्णय र संरचनामा भागबण्डा पनि खोजे ।

यस्तै आरोप लगाउने उनी २०७२ फागुनमा सभापतिको कुर्सीमा विराजमान भएपछि पार्टी विधि, विधान र पद्धतिमा चल्ने अनुमान धेरैले गरे ।

तर, अफसोच देउवाको पालामा पनि पार्टी चुनावमा गए पनि शर्मनाक पराजय बेहोर्न बाध्य भयो । स्थानीय तह, प्रदेश र संघीय संसदमा पार्टीले कहीं पनि बलियो उपस्थिति देखाउन सकेन । यसकारण पनि देउवाको सभापतिको कुर्सी दुई वर्ष नपुग्दै हल्लिन पुग्यो ।

गत निर्वाचनमा भोगेको पराजयपछि भएको निर्वाचन समिक्षा बैठकमा देउवालाई आत्माआलोचना गर्नका लागि नेताहरुले धेरै नै दबाब दिए ।

कम्युनिष्ट दलहरु मिल्दा मात्रै भन्दा पनि निर्वाचनमा टिकट वितरणमा भएको कमजोरी, अन्तर्घातसहितका विषयले पार्टी पराजित हुनुपर्ने भन्ने विषयलाई कांग्रेसले निर्णयमैं उतारेको थियो । देउवालाई यसरी आफ्नो कमजोरी स्वीकार्ने बनाउन त्यतिखेर गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, कल्याण गुरुङ, चन्द्र भण्डारी, जीवन परियार, बद्रि पाण्डे, नविन्द्रराज जोशी सहितका नेताहरुले मौखिकमात्रै होइन पार्टी सुधारको लिखित कार्ययोजना ल्याएर थप दबाब सिर्जना गरेका यसबाट देउवाले दबाब महसुस गरेको उनी निकट नेताहरु नै बताउँछन् ।

फरकफरक गुटबाट एक ठाउँमा उभिँदै पार्टी सुधारको कार्ययोजना उनीहरुले ल्याएपछि धेरै आशा पनि गरिएको थियो । किनकी फरकफरक गुटबाट प्रभावशाली नेताहरु एक ठाउँमा उभिनु भनेको गुटबन्दी हट्दै जाने भन्ने सन्देश पनि थियो । तर, गगन, प्रदीप र गुरुहरुले यो सुन्दर मौका खेर फालेका छन् ।

तर, महासमितिमा छरिए युवा नेताहरु
निर्वाचन समीक्षामा एक भएर जाने गरी ५० पृष्ठको पार्टी सुधारको कार्ययोजना ल्याएका युवा नेताहरु पार्टी महाधिवेशनपछिको सबैभन्दा ठूलो शक्तिशाली निकाय महासमितिको बैठकका बेला भने छरिएका छन् । उनीहरुको पार्टी सुधारको ५० पृष्ठको कार्ययोजना के हुने भन्ने अन्यौल छ ।

नेताहरुले यो विषयलाई अगाडि बढाउनेबारे एक ठाउँमा उभिएर छलफल गरेका छैनन् । यस अघि नै केन्द्रीय समिति हुँदै महासमितिसम्म यो कार्ययोजना लगेर पार्टीलाई हस्तक्षेपको नीति लिए पनि युवा नेताहरु अहिले छरिएका छन् । आजदेखि महासमिति बैठकको औपचारिक कार्यक्रम सुरु हुँदैछ ।

भोलि उद्घाटन भएर बन्दसत्र सुरु हुनेछ । जहाँ राजनीतिक, विधान, सांगठनिक, आर्थिक र लेखा परिक्षणका लागि प्रस्तावहरु पेश हुनेछन् । जसमा बन्दसत्रमा सात वटै प्रदेशगत रुपमा सात समूहमा छलफल हुनेछन् । तर, बिडम्वना युवाहरुको पार्टी सुधारको लागि ल्याइएको पहिलेको कार्ययोजना के हुने भन्ने अझै अन्यौल नै छ ।

पार्टी नेतृत्वले राम्रो गर्न नसकेको तथ्य एकातिर हुँदै गर्दा १४ औं महाधिवेशनसम्म आफ्नो पक्षमा ठूलो युवा जनमत आकर्षित गर्नका लागि युवाहरुका लागि महासमिति बरदान सावित हुन सक्थ्यो । यसका लागि उनीहरुले आफ्नो समूहमा २० देखि २५ केन्द्रीय सदस्य उतानुपथ्र्यो ।

यसको असर १४ औं महाधिवेशनमा युवा नेताहरुले नेतृत्वलाई दबाबमात्र पार्न सक्ने थिएनन् । एक दुई युवा नेतलाई पदाधिकारी स्थापित गर्नका लागि दबाब दिन पनि सक्थे । तर, यस्तो हुन सकिरहेको छैन । विधानदेखि राजनीतिक प्रस्तावसम्मको छलफलमा पहिले एक ठाउँमा उभिएका नेताहरुले पनि छरिएर आफ्ना भनाइ र धारणा राखे ।

‘हामीले पार्टीमा दबाब दिनमात्र नभएर पार्टी सुधारको कार्ययोजना नै ल्याएका थियौं’ युवा नेता प्रदीप पौडेलको भनाई छ, ‘महासमिति अघि हामी फेरि सक्रिय भइ सामूहिक कार्ययोजना ल्याउन नखोजेको होइन र तर, हामी पार्टी सदस्यता खुल्ला हुनुपर्छ भन्नेमा बहस गर्न थाल्यौं अरुहरुले दुई थरी सदस्यमैं बल गर्न थाले ।’

तर पनि कुनै न कुनै हिसाबले महासमितिमा आफूहरुले पार्टी सुधारको कार्ययोजना अघि बढाउने उनी सुनाउँछन् ।

सम्बन्धित खबर