चोलेन्द्रको सुनुवाइ प्रकृया आजदेखि, उजुरीका लागि आह्वान

दियो पोस्ट  

काठमाडौं, पुष २ । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशम्शेर जबराको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले जवराविरुद्ध उजुरी दिन आज सोमबारबाट आह्वान गर्ने निर्णय गरेको हो ।

गत बिहीबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णयसहित सुनुवाइ गर्न समितिलाई पत्राचार गरेको थियो ।

सोही पत्रका आधारमा समितिले सोमबारदेखि दश दिनसम्मका लागि जबराविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

उजुरी दिने म्याद सकिएपछि उजुरीकर्तासँग आवश्यक छलफल गर्नुपर्ने प्राबधान छ । उजुरीकर्तासँगको छलफलपछि जबरासँग सुनुवाइ थालिनेछ ।

सुनुवाइ चित्त बुझेमा जबराको नाम अनुमोदन हुनेछ । समितिले अनुमोदन गरेपछि जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यसअघि प्रधानन्यायाधीशमा सिफारीस दिपकराज जोशीलाई चित्तबुझ्दो जबाफ नदिएको भन्दै संसदीय सुनुवाइ समितीले अस्विकृत गरेको थियो ।
२०१४ मंसिर २८ गते काठमाडौंको सुकेधारामा जन्मिएका राणाले २०७१ सालदेखि सर्वाेच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अवकाश पाउँदै हुनुहुन्छ ।