काठमाडौं, पुस ५ । महानगरीय प्रहरी परिसर काठमाडौंले ठुलो सङ्ख्यामा पकेटमारहरू पक्राउ गरेको जनाएको छ । प्रहरीले राजधानीका सार्वजनिक यातायातमा पाकेटमारी तथा चोरीको गरेको आरोपमा ७७ जनालाई बुधबार सार्वजनिक गरेको छ ।
यात्रुहरूको साथबाट नगद,मोबाइल,गरगहना चोरी गर्दा उनीहरू रंगेहात पक्राउ परे प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटपसहित नगद बरामद गरेको छ।
सार्वजनिक बसहरूमा २/२ जनाको दरले ६ जनासम्मको समूह बनाएर बस भित्र छिरेर पकेटमार्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूले पैसा भएको यात्रु पत्ता लगाइ अगाडि पछाडिबाट घेराबन्दीमा पारी ठेलमठेल गरी मौका छोपेर मोबाइल, नगद र गरगहना पकेटमारी पालैपालो गरी बसबाट ओर्लने गरेको प्रहरीको दावी छ ।
पकेटमारको सांकेतिक भाषा
प्रहरीले अनुसन्धानका क्रममा पकेटमारहरूले सांकेतिक भाषाको प्रयोग गर्ने गरेको पनि जनाएको छ । प्रहरीका अनुसार पकेटमारहरूले पैसालाई द, मोबाइललाई कान, गाडीलाई काचा, केटालाई छापा, केटीलाई भद्रि, ड्राइभरलाई माम, खलासीलाई मले जस्ता सांकेतिक भाषाहरू प्रयोग गर्ने गरेको खुल्न आएको जनाएको छ ।
यसका अलवा उनीहरू पकेटमारी पीडितलाई रामे, पाकेटमारी गर्नेलाई काशी, धेरै पैसालाई टानको द, थोरै पैसालाई जुटको द, पुलिसलाई ठूल्दाई, गाडीबाट झरेर भाग भन्नलाई टप्की, गाडीभित्र अगाडि सरलाई अकल जा, गाडीभित्र पछाडि सरलाई छिचल जालगायतका भाषाहरूको प्रयोग गर्ने गरेको पनि प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंले जारी गरेको बिज्ञप्तिमा छ ।