७ पुस, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापर्वाही गरेको भन्दै बर्खास्तमा परेका तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टले फेसबुक मार्फत आफ्नो पीडा पोखेका छन् । निलम्बनमा परेपछि पुनवाहलीको लागि मन्त्रीपरषद्को कार्यालयमा निवेदन दर्ता गराएका थिए । तर सुनुवाई नभएपछि अहिले उनी भने फेसबुकमा मनको बह पोख्दै आएका छन् ।
विष्ट दैनिक रुपमा फेसबुकमा स्टाटस लेख्दै असल दायित्वको पक्षमा वकालत गर्दैगर्दै जागिर गएको बताएका छन् । उनले लेखका छन ‘सत्य–इमान्दारिता र असल दायित्वको पक्षमा वकालत गर्दा गर्दै जागिरको त अन्त्य भयो तर निष्ठा र स्वभिमानको अन्त्य भएन । खडेरी परेको बेलामा सत्य ओइलाउन सक्छ तर कहिल्यै मर्दैन ।’
निर्मला पन्तको हत्या काण्डको समयमा प्रमुखको हैसियतमा जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले विष्टलाई निलम्बनको लागि सिफारिस गरेको थियो । प्रहरी प्रधानको कार्यालयको सिफारिस अनुसार उनी निलम्बनमा परेका थिए । सर्वोच्च जाने बाटो समेत बन्द हुने गरी गृह मन्त्रालयले दुई पटक स्पष्टिकरण लिएर विष्टलाई निलम्बन गरेको थियो ।
विष्टले लेखेका छन–‘असल दायित्वको पक्षमा वकालत गर्दा–गर्दै जागिरको अन्त्य भएको तर निष्ठा र स्वाभिमानको अन्त्य नभएको बताएका छन् । खडेरी परेका बेला सत्य ओइलाउन सक्ने तर कहिल्यै नमर्ने उनले लेखेका छन् । बिष्टले एक दिनमा झण्डै एक÷एक घण्टाको अवधिमा ६ देखी १० वटा सम्मका स्टाटस लेखेका छन् ।
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको छानबिनमा लापरबाही गरेको भन्दै एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई प्रहरी सेवाबाटै बर्खास्त गरिएको छ ।
केही दिन अघि एसपी विष्ट सहित ८ जना प्रहरी विरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले कन्चनपुर प्रहरी कार्यालयमा जाहेरी समेत दिएकी छिन् । विष्ट लगायत प्रहरी विरुद्ध जाहेरी दिएपनि प्रहरीले ठोस कारबाही गर्न सकेको छैन ।