काठमाडौं, पुस ८ । सत्त्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका ४३ केन्द्रीय सदस्यहरुले नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको नियुक्ति खारेजीको माग गरेका छन् ।
उनीहरुले झाको नियुक्ती खारेजी गर्न भन्दै अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेका छन् ।
विवादित छबी भएका व्यक्तिहरुले राजनीतिक नियुक्ति पाएको भन्दै त्यस्ता नियुक्ति पाएकाहरुको बर्खास्तगीको माग गर्दै रामकुमारी झाँक्री, ठाकुर गैरे, जगन्नाथ खतिवडा, डा विजय पौडेल लगायतका ४३ नेताहरुले अध्यक्षद्धयलाई ज्ञापनपत्र बुझाएका हुन्
।
पत्रमा भनिएको छ, ‘दिगम्बर झा र उनीजस्ता भ्रस्टाचारमा विवादित भएकाहरुलाई यथासिघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीको तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस्।’
संस्थागत भ्रस्टाचारका घटनालाई अनुसन्धान गर्दै कारबाहीको दायरामा ल्याउन तत्कालै अभियानको थालनी गर्नसमेत माग गरिएको छ।
यस्तै एनसेलजस्ता कम्पनीहरुले हाकाहाकी कर छलिरहेका र सरकारलाई विगतदेखि नै असहयोग गरिरहेका भन्दै उनीहरुले यस्ता संस्थागत भ्रस्टाचारका घटनाहरुलाई क्रमशः छिमल्दै र कारबाहीको दायरामा ल्याउँदै जानका लागि तत्कालैदेखि अभियान सञ्चालन गर्न आवश्यक रहेको बताएका छन्।