पाँचथरका स्थानीय तहमा सल्लाहकारको घुइँचो

दियो पोस्ट  

पाँचथर, पुस ११ । पाँचथरका सबैजसो स्थानीय तहले सल्लाहकार नियुक्त गरेका छन् । कतिपय स्थानीय तहले विभिन्न विषय हेर्ने गरी विषयगत सल्लाहकारसमेत नियुक्त गरेका छन् । फिदिम नगरपालिकामा आधादर्जन विषयगत सल्लाहकार छन् । राजनीति, आर्थिक, कानुनी र प्रेस सल्लाहकार भन्दै नगरपालिकाले आधादर्जन व्यक्तिलाई सल्लाहकारमा नियुक्त गरेको हो । ती सल्लाहकारलाई नगरपालिकाले आर्थिक सहयोगसमेत गर्दै आएको छ । नगरपालिकाले कामविनाका अनावश्यक सल्लाहकार नियुक्त गरेको भन्दै नागरिकले भने आलोचना गर्न थालेका छन् । आलोचना भएपछि फिदिम नगरपालिकाको प्रेस सल्लाहकारमा नियुक्त पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगानाले राजीनामा दिएका छन् ।

सल्लाहकारलाई वार्षिक पारिश्रमिक
हिलिहाङ गाउँपालिकाले पनि तीनजनालाई सल्लाहकार तोकेको छ । उनीहरूलाई वार्षिक रूपमा पारिश्रमिक रकमसमेत तोकिएको छ । कानुनी र प्रेस सल्लाहकारलाई वार्षिक १ लाख २० हजार र राजनीतिक सल्लाहकारलाई ६० हजार रुपैयाँका दरले भुक्तानी दिइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले जानकारी दिए ।

याङवरक गाउँपालिकाले भने कानुनी सल्लाहकार मात्रै राखेको छ । काम गरेको समयमा केही रकम दिने सर्तमा कानुनी सल्लाहकार राखिएको गाउँपालिकाले जनाएको छ । कुम्मायक गाउँपालिकाले पनि सल्लाहकार राखेको छ । अघिल्लो आर्थिक वर्षमा प्रेस सल्लाहकार र कानुनी सल्लाहकार राखेको गाउँपालिकाले यो वर्ष भने कानुनी सल्लाहकार मात्रै राखेको छ । आवश्यक परे प्रेस सल्लाहकार पनि नियुक्त गरिने प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले बताए । गाउँपालिकाले एकजना सल्लाहकारलाई वार्षिक एक लाख २० हजार रुपैयाँसम्म भुक्तानी गर्ने गरेको छ ।

पारिश्रमिकविनाका पनि सल्लाहकार
फाल्गुनन्द गाउँपालिकाले पनि सल्लाहकार राखेको छ । तर, पारिश्रमिक तोकिएको छैन । प्रेस सल्लाहकारमा नियुक्त खविन लुइँटेलले आफूले पारिश्रमिक नलिने बताए । जिल्लामा आठवटा स्थानीय तह छन् । कतिपय व्यक्ति दुई वा सोभन्दा बढी स्थानीय तहको समेत सल्लाहकार छन् । अधिवक्ता छवि बाँस्कोटा फालेलुङ गाउँपालिका र फिदिम नगरपालिकाको कानुनी सल्लाहकार छन् । त्यस्तै, अधिवक्ता खगेन्द्र बाँस्कोटा हिलिहाङ, याङवरक र कुम्मायक गाउँपालिकाको कानुनी सल्लाहकार भएर काम गर्दैछन् ।

TATA ADD

सिफारिस