संसद् चल्न नदिने कर्मचारीको चेतावनी, आजबाट संघीय संसद्को हिउँदे अधिवेशन

दियो पोस्ट  

काठमाडौं, पुस ११ । संघीय संसद् सचिवालयका कर्मचारीले आज बुधबारबाट शुरू हुने संसद्को तेस्रो अधिवेशनमा अवरोध गर्ने चेतावनी दिएका छन्।
आफ्ना माग पूरा नगरे आज ४ बजेदेखि बस्ने समय तोकिएको संघीय संसद् चलाउज सहयोग नगर्ने उनीहरूले चेतावनी दिएका छन्। उनीहरूले अतिरिक्त समय काम गरेबापत थप सुविधा दिनुपर्ने माग गर्दै आएका छन्।

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन ९संघ०का अध्यक्ष गोविन्दप्रसाद बेल्बासे जैसीले आफ्ना माग पूरा नभए बैठक चल्न नदिने दाबी गर्नुभयो।
‘हामीले पटक–पटक सरोकारवालालाई भेटेर समस्याबारे जानकारी दिएका छौं। तर पनि कुनै सुनुवाइ नभएकाले बाध्य भएर कडा निर्णय गर्ने अवस्थामा आइपुगेका हौं’, जैसीले भन्नुभयो– ‘मंगलबार पनि दुवै सदनका कार्य व्यवस्था परामर्श समितिको बैठकमा विषयवस्तुबारे प्रस्ट पारेका छौं, आज बिहानसम्म केही निर्णय भए ठीकै छ, नभए अडान कायम रहन्छ।’

संसद् भवन नयाँ बानेश्वरमा मंगलबार भएको परामर्श समितिको बैठकमा कर्मचारीले आफ्ना गुनासा सुनाएका थिए। प्रतिनिधिसभाको कांगे्रसका प्रमुख सचेतक बालकृष्ण खाँणले कर्मचारीको माग पूरा गर्न भन्दै कार्य व्यवस्थामा कर्मचारीको गुनासो समेटिएको पत्र बुझाउनुभएको छ।

कर्मचारीको साझा संस्था संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले संघीय संसद् सचिवालय व्यवस्थापन समितिले कर्मचारीको मागप्रति बेवास्ता गरेको भन्दै आन्दोलन शुरू गरिएको बताउनुभयो।

अध्यक्ष अर्यालले कर्मचारीको श्रमशोषण भएको र अतिरिक्त श्रम गरेबापत थप सुविधा नपाएको भन्दै आन्दोलन गर्न बाध्य भएको स्पष्ट पार्नुभयो। ‘केही दिन पर्खन आग्रह गरिएको छ, माग पूरा सहयोग हुँदैन’, अर्यालले थप्नुभयो– ‘थप सुविधा नदिए कार्यालय समयभित्र मात्रै काम गर्छौं।’

कर्मचारी युनियनले प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षका साथै परामर्श समिति, संसदीय दलका प्रमुख सचेतक, सचेतकलाई छुट्टाछुट्टै भेटिसकेका छन्।
कर्मचारी युनियनले मंगलबार बिहान एक औपचारिक कार्यक्रम गरी अहिलेसम्म भएका प्रगति र भावी योजनाबारे सबै कर्मचारीलाई जानकारी गराएको कर्मचारी हेमनाथ दवाडीले बताउनुभयो।

व्यवस्थापिक संसद् सचिवालयसम्बन्धी ऐन–२०६४ को दफा ४० मा ‘तलब, भत्ता, चाडबाड खर्च तथा अन्य सुविधासम्बन्धी व्यवस्था’ छ। ऐनमा पनि थप काममा लगाएबापत अतिरिक्त सुविधा दिन सक्ने उल्लेख छ। दफा ७३ मा आधिकारिक कर्मचारी युनियन रहने व्यवस्था छ।

२०७४ माघ ७ गतेसम्म कर्मचारीले दैनिक थप ३ घन्टा सेवा गरेबापत बिहान २ सय ५० र साँझको थप २ सय ५० रुपियाँ पाउँदै आएका थिए। शनिबार र बिदाको दिनमा पनि काम गरेबापत उपस्थित कर्मचारीलाई दैनिक ७ सय रुपियाँ उपलब्ध गराइएको थियो।

माघ ८ पछि उनीहरूले थप सुविधाबापत १ सय २० प्रतिशतसम्म सुविधा मागेका थिए, त्यो मागलाई सम्बोधन गर्न भन्दै ८० प्रतिशत सुविधा थप गरिएको थियो।
संघीय संसद् भएपछि बनेको संघीय संसद् सचिवालयसम्बन्धी ऐन निर्माणको क्रममा कानुन मन्त्रालयमा पुगेको जनाइएको छ। तर गत साउन १ गतेबाट उनीहरूले तलबबाहेक थप केही पाएका छैनन्। संघीय संसद् भएपछि बनेको संघीय संसद् सचिवालयसम्बन्धी ऐन निर्माणको क्रममा कानुन मन्त्रालयमा पुगेको बताइएको छ।
आफ्नो अडान कायम रहेको भन्दै कर्मचारीले मंसिर २८ गतेको संसद् दिवससमेत बहिष्कार गरेका थिए। १ सातासम्म चलेको अतिरिक्त क्रियाकलापको अन्तिम २ दिन उनीहरूले भाग नलिएपछि कार्यक्रम नै स्थगित गरिएको थियो। निजामती सेवाबाट २०५८ सालमा संसद् सेवा स्वायत्त भएको उपलक्ष्यमा संसद् सेवा दिवस मनाइँदै आएको छ।

संघीय संसद् सचिवालय व्यवस्थापन समितिले निर्णय नगर्दा थप सुबिधा नपाएको कर्मचारीको आरोप छ। व्यवस्थापन समिति क्याबिनेटसरह हुने भएकाले उसको निर्णय अन्तिम हुने व्यवस्था छ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले कर्मचारीको माग सम्बोधन गर्दै थप सुबिधा दिन व्यवस्थापन समिति सहमत भएको दाबी गर्नुभयो।
व्यवस्थापन समितिमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाकी उपसभामुख, राष्ट्रिसभाकी उपाध्यक्ष, संसद् सचिवालयका महासचिव, प्रतिनिधिसभा र राष्ट्रियसभाका सचिव र सचिवालयका २ जना सचिव रहने व्यवस्था छ।

सांसदले समिति बैठकमा सहभागी भएबापत् दैनिक २ हजार रूपियाँ र बिहान तथा साँझ बैठक बसे थप ४ सय रूपियाँ पाउँछन्। समितिको प्रतिबैठकमा ३ हजार ५ सय रूपियाँ चियाखाजाबापत् खर्च गर्न मिल्ने व्यवस्था छ तर सांसद, अतिथि र पत्रकारलाई दिँदा कहिलेकाँही चिया खानसमेत नपाएको कर्मचारीको गुनासो छ।
यसअघि नै सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा सचिवालयका कर्मचारीको गुनासो आएको र उचित सम्बोधन हुने बताउनुभएको थियो। संसद् सचिवालयमा ४ सय ३५ जनाको दरबन्दी रहेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा ३ वटा विधेयक र एउटा अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तुत गर्नुहुनेछ।

कर्मचारीले अध्यादेशको विरोध गर्दै आएका छन्। प्रतिनिधिसभा कार्य व्यवस्था महाशाखाका अनुसार ७ वटा विधेयक विभिन्न समितिमा छलफलका क्रममा रहेका छन्। राष्ट्रियसभामा उत्पत्ति भई ३ वटा विधेयक सन्देशसहित प्रतिनिधिसभामा आएको महाशाखाका सहसचिव बंशिराज पौडेलले जानकारी दिनुभयो।
आजको बैठकमा पूर्वसंसादद्वय पद्मरत्न तुलाधर र चक्रप्रसाद बास्तोलाको सञ्झनामा श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ। नेपालसमाचारपत्र दैनिकबाट