हिरासतमुक्त भएपछि प्रदीपले भने, ‘पैतालामा लाठीले हानेपछि अपराध स्विकारेको हुँ’

दियो पोस्ट  

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा छाडिएको हो । 

भीमदत्त नगरपालिका–१८ भगतपुरका १९ वर्षीय प्रदीपलाई १७ मंसिरमा पक्राउ गरी प्रहरीले सार्वजनिक हितविरुद्धको अपराध मुद्दा लगाएर थुनेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएपछि उनी छुटेका छन् । 

छुटेपछि रावलले आफूलाई प्रहरीले यातना दिएको बताएका छन् । सिआइबीको कार्यालयमा यातना दिएपछि आफू र विशाल चौधरीले मिलेर निर्मलाको हत्या गरेको भनेर बयान दिएको उनले सुनाए । 

‘पैतलामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने,’ छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे ।’ आफूले निर्मलालाई चिन्दै नचिनेको र घटनाबारे केही थाहा नभएको पनि उनको भनाइ छ । 

प्रदीपलाई कानुनी सहायता दिएका अधिवक्ता बद्री भुसालका अनुसार अपराध स्वीकार नगरेसम्म आफूमाथि कुटपिट भएको उनले बताएका छन् । ‘शरीरमा चोट त देखिएको छैन, एकदमै दुखेको छ भनेको छ, भोलि हामी उनलाई अस्पताल लैजान्छौँ,’ भुसालले भने । 

प्रदीप र विशालले अपराध स्वीकार गरेपछि प्रहरी निकै उत्साहित भएको थियो । तर, पछिल्लो समय प्रहरी निराश बनेको छ । प्रदीप प्रक्राउ परेको थाहा पाएपछि उनका बुबा टेकबहादुर भारतबाट नेपाल आएका थिए । सोमबार छोरालाई भेटेर उनी कञ्चनपुर गएका छन् । बुबासँग पनि उनले दबाब दिएपछि आफूले अपराध स्विकारेको, तर त्यसमा संलग्न नभएको बताएका छन् । न्युरोडको एक मःम पसलमा काम गर्ने प्रदीपलाई प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको थियो । 

‘पैतलामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने,’ छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे ।’ आफूले निर्मलालाई चिन्दै नचिनेको र घटनाबारे केही थाहा नभएको पनि उनको भनाइ छ । 

प्रहरीले उनको डिएनए र पोलिग्राफ टेस्टसमेत गरेको छ । तर, प्रदीप र विशाल दुवैको डिएनए रिपोर्ट सार्वजनिक गरेको छैन । डिएनए नमिलेकाले नै ‘होल्ड’मा राखिएको प्रहरी स्रोत बताउँछ । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भने सिआइबीका निर्देशक नीरज शाही तथा केही अनुसन्धान अधिकृतसमेत लिएर बुधबार नै कञ्चनपुर गएका छन् । नयाँ कोणबाट अनुसन्धान गर्ने भन्दै आफैँ कञ्चनपुर गएका हुन् । कञ्चनपुरमा सिआइबीबाट एसपी सुदीप गिरीको नेतृत्वमा पछिल्लो चरणको अनुसन्धान भइरहेको छ ।

न्यायको आन्दोलनमा क्षति
निर्मलाको न्यायका लागि कञ्चनपुर अहिले पनि आन्दोलनमै छ । निर्मलाको न्यायका लागि भएको आन्दोलनमा ठूलो क्षति भएको छ । १४ वर्षीय बालक सन्नी खुनाको प्रहरीको गोली लागेर ज्यानै गयो । १९ वर्षीय अर्जुन भण्डारीले खुट्टा गुमाएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत उनको स्वास्थ्यमा अझै सुधार आएको छैन । १७ वर्षीय उमेश देउवाको स्वास्थ्य पनि अझै खराब छ । आन्दोलनमा हातमा गोलीको छर्रा लागेको १३ वर्षीय चेतन भट्ट दुखाइका कारण नियमित विद्यालय जान सकेका छैनन् । भगतपुरका ४७ वर्षीय सुरेश चटौत, भाँसीका ४१ वर्षीय चेतराज भट्ट र निम्बुखेडाकी ३२ वर्षीय मञ्जु गिरी पनि घाइते भएर उपचारमै छन् । 

छानबिन समिति बने, परिणाम आएन 
निर्मला हत्याकाण्ड छानबिनका लागि सरकारले सहसचिव हरि मैनाली नेतृत्वमा एक उच्चस्तरीय छानबिन समिति गठन ग¥यो । केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसीको नेतृत्वमा पनि अनुसन्धान टोली गठन भयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक (हाल निलम्बित) एकेन्द्र खड्का नेतृत्वमा पनि अनुसन्धान टोली बन्यो । तर, कुनै समितिले पनि अनुसन्धान निष्कर्षमा पु¥याउन सकेनन् । कञ्चनपुर प्रहरीसहित अहिले सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक ठाकुरप्रसाद शर्मा र प्रहरी उपरीक्षक दुर्गासिंह चन्द नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

निर्मला हत्याकाण्ड अनुसन्धानमा लापरबाही गरेको भन्दै सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिलीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज जगदीशप्रसाद भट्टलाई बर्खास्त गरिसकेको छ । छानबिनमा लापरबाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी, इन्स्पेक्टर एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षकद्वय रामसिंह धामी, हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरेको छ । 

आमाबाबुको धर्ना जारी
छोरीको न्यायका लागि निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी २५ कात्तिकदेखि प्रशासनको मूलगेटमा धर्नामा बसे । उनीहरूलाई अधिकारकर्मीले साथ दिए । धर्नाकै क्रममा स्वास्थ्यमा समस्या आएपछि यज्ञराजलाई उपचारका लागि काठमाडौं लगियो । उपचार गरेर फर्केपछि उनले धर्ना जारी राखका छन् ।

‘हामीलाई छोरीको हत्यारा चाहिएको छ,’ आमा दुर्गाले भनिन्, ‘नक्कली होइन, सक्कली चाहिन्छ ।’ स्थानीय, प्रदेश र संघीय सरकारले दिएको १८ लाख राहत पनि निर्मलाको परिवारले बुझेको छैन ।


५ महिनासम्म पत्ता लागेन अपराधी 
निर्मलाको बलात्कारपछि हत्या भएको एक सय ५५ दिन बितिसकेको छ । तर, अहिलेसम्म प्रहरी वास्तविक अभियुक्त पक्रन असफल भएको छ । 

सुरुमा प्रहरीले ४ भदौमा भीमदत्त नगरपालिका– १९ बागफाँटाका मानसिक सन्तुलन गुमाएका ४१ वर्षीय दिलीपसिंह विष्टलाई दोषी करार गर्दै सार्वजनिक गरेको थियो । तर, दिलीपलाई नक्कली अपराधीका रूपमा खडा गरेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्कियो । डिएनए परीक्षण पनि मेल नखाएपछि उनी छुटे । प्रहरीको यातना पाएका दिलीपको काठमाडौंमा उपचार भइरहेको छ । 

त्यसपछि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण र स्थानीय युवा सुरेन्द्र विष्टको डिएनए परीक्षण भयो । तर, उनीहरूको डिएनए पनि मेल खाएन । त्यसलगत्तै परीक्षण गरिएको अन्य चारजनाको डिएनए पनि नमिलेपछि मंसिरमा प्रदीप रावल, विशाल चौधरी पक्राउ परे । प्रहरी उच्च स्रोतका अनुसार प्रदीप र विशाल पनि डिएनए नमिलेपछि छुटेका हुन् । कञ्चनपुर प्रहरीले गाउँभरका शंकास्पद व्यक्तिको डिएनए परीक्षण गर्ने जनाउँदै आएको छ । 

निर्मलाकी साथी रोशनी बम र उनकी दिदी ववितालाई पनि प्रहरीले दुईपटक अनुसन्धान ग-यो । पछिल्लोपटक हिरासतमै राखेर केरकार ग-यो । तर, घटनामा दुवैजना संलग्न नभएको देखिएपछि छाड्यो । १० साउनमा घरबाट होमवर्क गर्न भन्दै निर्मला रोशनीको घर गएकी थिइन् । ११ साउनमा उखुबारीमा उनको शव भेटिएको थियो ।

कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्डको अनुसन्धान जारी रहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी कृष्णराज ओझाले निर्मला हत्याकाण्ड छानबिनका लागि विभिन्न टोली परिचालन गरिएको बताए । उनका अनुसार शंस्कापद व्यक्ति प्रहरीले उच्च निगरानीमा छन् । अहिलेसम्म ३५० लाई नियन्त्रणमा लिएर उनीहरूमाथि अनुसन्धान थालिएको बताए ।