काठमाडौँ,पुस १३ । सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा तीन लाख ५० हजार किसान प्रभावित भएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद हृदयेश त्रिपाठीले हरेक वर्ष कात्तिक मसान्तदेखि मङ्सिरको पहिलो साता उखुको समर्थन मूल्य तोकिने र उखु पेल्ने काम शुरु हुने भएपनि यस पटक त्यस्तो नभएकाले किसान प्रभावित भएकामा गुनासो गरेको हो ।
उहाँले सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा किसान प्रभावित हुँदा उनीहरुका आश्रित परिवार समेत प्रभावित भएको भन्दै तत्काल मूल्य तोक्न आग्रह गर्नुभयो । सांसद पुष्पा भुसालले महिला हिंसाका घटना नियन्त्रण गर्न नसकेकामा सरकारको आलोचना गरेको छ ।
उहाँले कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म हत्यारा पत्ता नलाग्दा नागरिकमा निराश पैदा भएको भन्दै तत्काल अपराधीलाई पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेको छ । (रासस)