विकेवशील साझामा विवाद , संयोजक मिश्रलगायतले एकलौटी गरेको आरोप

दियो पोस्ट  

काठमाडौं, पुस १५ । विवेकशील साझा पार्टीमा विवाद बढ्दै गएको छ । पार्टी संयोजक रविन्द्र मिश्र, बरिष्ठ नेता मुमाराम खनाल, प्रवक्ता सुर्यराज आचार्यले एकलौटी ढंगले चलाएको भन्दै अर्का संयोजक उज्वल थापालगायतले व्यवस्थित रुपमै असन्तुष्टि जनाएका छन् । पार्टी चलाउने यो शैलीले नयाँ परिपाटीसहितको पार्टी नबन्ने असन्तुष्ट समूहको ठहर छ । 

पार्टीभित्र असन्तुष्टी बढ्दै गएपछि देशव्यापी भ्रमण गरेका संयोजक थापाले प्रतिवेदन तयार पार्न लागेका छन् । उनले विवेकशील साझा पनि पुरानै शैलीको अर्को पार्टी बन्न थालेको भन्दै असन्तुष्टी पोखेका छन् ।

‘हामी पुरानै लहरमा एउटा अर्को पार्टी बन्दै छौँ, साँघुरो घेरामा बसेर निर्णय गर्दै छौँ, नतिजा निकाल्ने भन्दा पनि आफ्नो अनुकूल व्याख्या गरेर उपलब्धिको रुपमा प्रस्तुत गर्दै छौँ,’ थापाले यसअघिको केन्द्रीय समिति बैठकमा भनेका थिए, ‘मूल्य, मान्यता, सहभागितामूलक लोकतन्त्र र सामूहिक नेतृत्व भन्ने विषय पछि कुनै समय गएर अभ्यास गरौँला भन्न मिल्दैन, ती त अहिले, आजै र हामी हरेकको विषयमा लागू हुनुपर्छ ।’

 पार्टी प्रवक्ता सूर्यराज आचार्यको प्रतिक्रिया 
पार्टीभित्रको विवाद मिडियामा आए जस्तो होइन । दुई भिन्न पार्टी एकिकरण भई विवेकसिल साझा पार्टी बनाईएको हो ।

पार्टीभित्रका केही राजनीतिक सवालमा नेतृत्व तहमा छलफल भएको हो । दुई भिन्न पार्टी मिलेर बनेको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक अभ्यास गर्ने सन्दर्भमा छलफल हुनु स्वभाविक हो । पार्टीको विचार, सोँच र केही मुद्दाका हकमा मत भिन्नतालाई राजनीतिकतहबाटै पार्टीले हल गर्ने छ ।

जहाँसम्म केही केन्द्रीय सदस्यले पार्टी छोड्नु भएको सन्दर्भ छ । उहाँहरू निर्वाचनलगत्तै स्वेच्छाले पार्टीबाट अलग हुनुभएको हो । केन्द्रीय सदस्य जुन बनाईएको छ, त्यो केन्द्रीय तर्दथ समिति हो । तर्दथ समितिमा छोड्ने र थप्ने नियमित प्रक्रिया चल्छ ।

पार्टी संयोजक नै अलग हुँदै छन भन्ने विषयमा जुन किसिमले समाचार आएको छ, त्यो अनुमान मात्रै हो । संयोजक उज्वल थापा अलग हुदै हुनुहुन्छ भन्ने विषयमा पार्टीलाई आधिकारिक जानकारी छैन । नयाँपत्रिका दैनिक

सम्बन्धित खबर