काठमाडौं, पुस १५ । संसद्मा निर्वाचत हुने महिला सांसद्को संख्या घट्दै गएको छ । यसपालिको प्रतिनिधिसभाको निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ६ जनाले मात्र निर्वाचन जितेका छन् ।
निर्वाचन जित्नेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कमला रोका, पम्फा भुसाल, पवित्रा खरेल निरौला, बिना मगर, दुर्गा पौडेल र पदमा अर्याल रहेका छन् ।
मगर र अर्याल मन्त्री छन् । रुकुम पूर्वबाट निर्वाचित नेकपाकी सांसद कमला रोकाले नेताहरूले महिला उम्मेदवार बनाउनै नचाहेको बताउनुभयो ।
‘महिलाले निर्वाचन जित्छन् भन्ने नै सोच्दैनन्, उम्मेदवारी पाए पनि जित्नका लागि धेरै तयारी गर्नुपर्नेहुन्छ’ रोका भन्नुहुन्छ–‘निर्वाचनमा ‘मनी’ र मसल प्रयोग गर्नुपर्ने भएकाले महिलालाई कमजोर ठानिएको हुन सक्छ ।’
रोकाले तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट कम्तीमा पनि १० देखि १५ वटा सिटमा प्रत्यक्ष उम्मेदवारी दिनको लागि माग गरिएको बताउनुभयो ।
नेपालको संबिधानको भाग ८ मा संघीय व्यवस्थापिकासम्बन्धी व्यवस्था छ । धारा ८४ को (८) मा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाई सदस्य महिला हुनुपर्ने कुरा उल्लेख छ ।
महिलाले थोरैमात्र संख्यामा जितेका र ३३ प्रतिशत पु¥याउनुपर्ने बाध्यता हुनाले समानुपातिकमा पुरुष प्रतिनिधित्व कम भएको छ । अहिले प्रतिनिधिसभामा २ सय ७५ मध्ये ९० जना महिला सांसद् छन् । राष्ट्रियसभामा रहेका ५९ सदस्यमध्ये २२ जना महिला छन् ।
संघीय संसद् सचिवालय सिंहदरवारद्धारा प्रकाशित ‘संसदमा महिला सहभागिता’ पुस्तकमा उल्लेख भएअनुसार पहिलो संविधानसभामा ३२.७८ प्रतिशत र दोस्रो संविधानसभामा २९.२८ प्रतिशत महिलाको सहभागिता रहेको छ । दोस्रो संविधानसभामा कायम रहेका ५ सय ९९ सांसदमध्ये १ सय ७६ जना महिला सांसद् थिए । सरकारद्धारा मनोनीत २ जना मनोनीत नहुँदा ६ सय १ जनाको संसद् ५ सय ९९ मा सीमित रहयो ।
दोस्रो संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सितादेबी यादब, ज्ञानकुमारी छन्त्याल, किरण यादव, पार्वती डिसी चौधरी, शारदा पौडेल, सुशीला चौधरी र चम्पादेबी खड्काले निर्बाचन जित्नुभएको थियो ।
यसैगरी नेकपा एमालेका तर्फबाट सिता गिरी ओली, नेजमा आलम, मञ्जुकुमारी चौधरी र एकीकृत नेकपा माओबादीको तर्फबाट ओनसरी घर्तीमात्र निर्वाचित हुनुभयो ।
खड्काले बाग्लुङ–१ बाट उपनिर्वाचन जित्नुभएको हो । श्रीमान हरिबहादुर खड्काको निधनपछि भएको उपनिर्वाचनमा खड्काले एमालेकी मनकुमारी जिसीलाई हराउनुभएको थियो । यसपालि खड्काले प्रतिनिधिसभाको निर्वाचन जित्न सक्नुभएन भने जिसी समानुपातिक सांसद् हुनुहुन्छ ।
बारा–४ बाट निर्वाचित आलम पनि श्रीमानको हत्यापछि उम्मेदवार बन्नुभएको थियो, उहाँका श्रीमानको निर्वाचनको केही दिनअघि हत्या भएको थियो । २०५० साल जेष्ठ ३ गते चितवनको दासढुंगामा भएको दुर्घटनामा परी मदन भण्डारीको निधन भएपछि श्रीमती विद्यादेवी भण्डारी काठमाडौं–२ बाट निर्वाचनमा उठेर जित्नुभएको थियो ।
यस्तै तत्कालीन माओवादीले रुकुमका एमाले नेता यदु गौतमको हत्या गरेपछि उठ्नुभएकी श्रीमती तिर्था गौतमले निर्वाचन जित्नुभयो ।
२०६४ साल चैत्र २८ गते भएको संविधानसभाको निर्वाचनमा ३० जना महिला निर्वाचित भए । काठमाडौं–४ बाट सुप्रभा घिमिरे र अर्घाखाँचीबाट पुष्पा भुसालमात्र कांग्रेसबाट निर्बाचित भए । एकीकृत नेकपा माओवादीले २४ स्थान, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले २ स्थान जितेको थियो ।
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट रेणु यादव र करिमा बेगम निर्वाचित भए । तराइ मधेश लोकतान्त्रिक पार्टीबाट सुमित्रा देवी राय यादव निर्वाचित हुनुभयो । नेकपा एमालेबाट सुर्खेतबाट कमला शर्माले मात्र जित्नुभयो । १ सय ६१ जना समानुपातिक महिला सांसद छानिए ।
६ जना सरकारबाट मनोनीत भएपछि यो संविधानसभामा महिला सांसदको संख्या १ सय ९७ रहेको थियो । यो संख्या ३२. ७८ प्रतिशत हो । दोस्रो जनआन्दोलनपछि स्थापित माओबादीसहितको अन्तरिम व्यवस्थापिकामा ५७ महिला सांसद थिए ।
२०५६ सालमा १२ जना महिला सांसद् निर्वाचित भए । जसमा कांग्रेसका ६, एमालेका ५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना थिए । राप्रपाबाट रेणु यादबले निर्वाचन जित्नुभयो । यादब २०६४ सालमा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट निर्वाचित हुनुभयो । २०४८ सालमा नेपाली कांग्रेसका ४ र नेकपा एमालेका ३ जना निर्वाचित भए । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले २०४८ सालमा काठमाडौं–१ उपनिर्वाचन जित्नुभयो ।
२०५० साल जेष्ठ ३ गते मदन भण्डारीको निधन भएपछि उपनिर्वाचन भएको थियो । २०४७ सालमा बनेको नेपाल अधिराज्यको संविधानको धारा ११४ मा प्रतिनिधिसभाको निर्वाचनमा कम्तीमा ५ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने संवैधानिक व्यवस्था थियो । विद्यादेवी भण्डारीले २०५१ सालमा काठमाडौं–२ बाट निर्वाचित हुनुभयो ।
२०१५ सालमा भएको पहिलो आम निर्बाचनमा क्षेत्र नम्बर ६६ बाट द्धारिकादेवी ठकुरानी ३ हजार ९ सय ३ मत ल्याएर निर्वाचित हुनुभयो । २०१६ साल जेष्ठ ६ गते गठन भएको विपी कोइरालाको सरकारमा ठकुरानी स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्री बन्नुभएको थियो ।
राजनीति गर्ने महिलाहरु अझैपनि पितृसतात्मक समाज भएको र महिलालाई हरेक ठाउँमा अवसर नदिएको गुनासो गर्दै आएका छन् । तर पुरुषहरुले भने महिलाले जिम्मेवारी लिन नखोजेको र आइपरेको बेला अर्कालाई पन्छाउने गरेको तर्क गर्दै आएका छन् ।
संसदमा निर्वाचित महिला कम भएपनि महिला नै राष्ट्रपति हुनुहुन्छ । यसअघि सुशीला कार्की प्रधान न्यायाधीश र ओनसरी घर्ती सभामुख भइसक्नुभएको छ । नेपालसमाचापत्र दैनिक