न्याम्समा उपकुलपति नहुँदा वीर र ट्रमा सेन्टर लथालिंग

दियो पोस्ट  

काठमाडौं, पुस १५ । सात लाख अभावले सिटिस्क्यान बनेन, सात महिनाअघि नै आउनुपर्ने ‘टोमोथेरापी’ पनि आएन

पदाधिकारी अभावमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा दैनिक कामकारबाही प्रभावित भएका छन् । यतिखेर न्याम्स उपकुलपतिविहीन छ । पदाधिकारीको नियुक्ति रोकिँदा स्वास्थ्य सेवामा समेत गम्भीर समस्या उत्पन्न भएको छ ।

न्याम्सअन्तर्गत रहेका वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा अत्यावश्यक सेवा रोकिन पुगेको हो । ट्रमा सेन्टरमा एक महिनादेखि बिग्रिएको सिटिस्क्यान मेसिन अझै बन्न सकेको छैन । ‘सिटिस्क्यान मेसिन बनाउन सात लाख रुपैयाँ खर्च लाग्छ । तर, अख्तियारी दिने अधिकारी नभएका कारण उक्त मेसिन बनाउन सकेका छैनौँ,’ अस्पतालमा कार्यरत एक कर्मचारीले भने । सेन्टरमा निमित्त निर्देशक डा. विनोद शेरचन छन् । उनले अत्यावश्यक मेसिन खरिदका लागि अख्तियारी दिन मानेका छैनन् ।

वीरमा पनि उस्तै समस्या
मुलुकको सबैभन्दा जेठो वीर अस्पतालमा हिजोआज बिरामीको चाप बढी छ । तर, अत्यावश्यक उपकरण बिग्रिँदासमेत व्यवस्थापनले चासो देखाएको छैन । वीरमा दुई साताअगाडि बिग्रेको सिटिस्क्यान मेसिन अझै बनेको छैन । चार वर्षअगाडि खरिद गरी ल्याइएको १६ स्लाइसको सिटिस्क्यानको ट्युब बिग्रिएपछि सेवा अवरुद्ध भएको छ ।

पैसा गयो, तर अन्योल बन्यो ‘टोमोथेरापी’

वीर अस्पतालले क्यान्सर उपचारमा प्रयोग हुने अत्याधुनिक मेसिन ‘टोमोथेरापी’ खरिद गरेको लामो समय बितिसक्यो । सात महिनाअगाडि नै मेसिन आइपुग्ने बताइएको थियो । तर, हालसम्म पनि नआउँदा बिरामीहरू समस्यामा परेका छन् । विशेषगरी, क्यान्सर उपचारका लागि वीर अस्पतालमा आउने गरिब तथा विपन्नवर्गका बिरामीहरू उपकरण नहुँदा समस्यामा परेका हुन् । वीरमा गत वर्ष सात सय क्यान्सरका रोगी भर्ना भएका थिए । यीमध्ये ५५० जना बिरामीलाई टोमोथेरापीको सेवा आवश्यक थियो । ‘तर, टोमोथेरापी नहुँदा उनीहरूले उपचार सेवा पाउन सकेनन्,’ अस्पतालका क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्यले भने । टोमोथेरापी संसारकै अत्याधुनिक उपकरणमध्ये एक हो । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मेसिन खरिदका लागि ४० करोड रुपैयाँ निकासा गरेका थिए ।

सञ्चालनमै आएन अस्पतालमै भएको इन्ट्राअप्रेटिभ सिटिस्क्यान

वीर अस्पतालले आठ महिनाअगाडि ल्याएको इन्ट्राअप्रेटिभ सिटिस्क्यान अझै सञ्चालनमा ल्याएको छैन । कर्मचारीहरूको अवरोधका उपकरण जडान भए पनि सेवा सुरु हुन नसकेको हो । इन्ट्राअप्रेटिभ सिटिस्क्यान अप्रेसनका समयमा बेडमै जडान गरिएको हुन्छ । आवश्यक परे बिरामीको सिटिस्क्यान त्यहीँबाट हुन्छ, बाहिर निकाल्नु पर्दैन । उपकरण नचलाउँदा गरिब विपन्नवर्गका बिरामी मारमा परेका छन् । आएको उपकरण जडान नहुनु र विभिन्न कारणले भएका उपकरण पनि बिग्रिरहने समस्याले चिकित्सकहरू समयअगावै घर जाने वा अन्यन्त्र क्लिनिकमा जाने गरेको अस्पतालका एक चिकित्सकको भनाइ छ ।

१६ स्लाइसको मेसिनले कमायो १० करोड

वीर अस्पतालको पुरानो १६ स्लाइसको सिटिस्क्यानले आफ्नो क्षमताभन्दा दोब्बर बढी इमेज खिचेको छ । ६ देखि ७ लाख इमेज खिच्ने क्षमता भए पनि बिरामी उपकरणले चार वर्षमा १४ लाख इमेज खिचेको छ । डा. शर्माका अनुसार बिग्रिएको १६ स्लाइसको मेसिनको ट्युब फेर्न एक करोड रूपैयाँ लाग्ने छ । वीरले केही समयअगाडि १२८ स्लाइसको सिटिस्क्यान खरिद गरेको थियो । तर, अझै सञ्चालनमा भने आएको छैन । अस्पतालका अनुसार पुरानो सिटिस्क्यान बिग्रिएलगत्तै नयाँ सिटी जडान गरिएको छ । विभागका प्रमुख डा. शर्माले पुरानो सिटिस्क्यानले चार वर्ष एक महिनामा १० करोड रुपैयाँ कमाएको बताए । नयाँपत्रिका दैनिकबाट