काठमाडौं, पुस १६ । कांग्रेसले एकसाथ सरकारविरोधी र पार्टी अभियान सञ्चालन गर्ने भएको छ । माघ लागेपछि सदस्यता वितरण, प्रशिक्षणसहित सरकारविरोधी अभियान सुरु गर्ने कांग्रेसको तयारी छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक रूपमा कार्यतालिका बनाएर माघमा पार्टीले अभियान सुरु गर्ने जानकारी दिए । साथै, सुरुको अभियानमा पार्टीका संरचनालाई व्यवस्थित गर्नेदेखि सरकार संस्थागत रूपमा भ्रष्टाचारमा लागेको भन्दै यसविरुद्ध नागरिक तहमा जाने तयारी पनि कांग्रेसको छ ।
‘हामीले महासमिति बैठकबाट समसामयिक प्रस्ताव पारित गर्दै सरकार संस्थागत भ्रष्टाचारमा लागेकोसहितका १५ बुँदा पास गरेका छौँ । अब संसद् र पार्टी संरचनामा सरकारका यी गलत काम र कमजोरीविरुद्ध प्रभावशाली ढंगले आवाज उठाउँछौँ,’ महतले नयाँ पत्रिकासँग भने, ‘यो अभियानसँगै पार्टी संरचनाका काम पनि अब माघ लागेपछि अघि बढ्छन् ।’ राष्ट्रिय र जनसरोकारका मुद्दा, संवैधानिक व्यवस्था र कानुनी व्यवस्थाका प्रावधान पालन गर्न उठाइएका विषयलाई उपेक्षा गर्दै सरकार अधिनायकवादी बाटोमा अग्रसर भएको निष्कर्ष हालै सम्पन्न कांग्रेस महासमिति बैठकले निकालेको थियो ।
विधान फाइनल भएपछि संगठनका काम अघि बढ्छन्
विमलेन्द्र निधि,उपसभापति
पुस मसान्ततिर केन्द्रीय समिति बैठक बसेर महासमितिबाट पारित सबै प्रस्ताव परिमार्जनसहित पारित हुन्छन् । यसअघि सहमति भइसकेका विषयमा परिमार्जन हुँदैन, तर आवश्यक बुँदा सामान्य परिमार्जन गरी पारित गर्छौं । त्यसपछि फाइनल भएर कांग्रेसको विधान छापिएपछि पार्टीका संरचनाले काम गर्न थाल्छन् ।
सदस्यता वितरण अभियान
साधारण सदस्य लिएको एक वर्ष पुगेकालाई क्रियाशील सदस्यता दिने र नयाँलाई सदस्यता दिनेगरी अब छिट्टै काम अघि बढ्ने उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । ‘अब हामी छिट्टै केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानलाई पूर्णता दिन्छौँ,’ उनले भने, ‘माघ लागेपछि देशभर प्रशिक्षण र अभियानका कार्यक्रम ल्याउँछौँ ।’ सरकारका गलत क्रियाकलापप्रति खबरदारी गर्ने र पार्टीका संगठनलाई प्रभावकारी रूपमा परिचालन गरी जनमत बढाउन प्रतिष्ठानलाई सक्रिय बनाउने तयारी कांग्रेसको छ । उपसभापति निधि प्रतिष्ठानको संयोजक हुन् । १२औँ देखि १३औँ महाधिवेशनबीच तत्कालीन उपसभापति रामचन्द्र पौडेल नेतृत्वको प्रतिष्ठान सबैभन्दा बढी सक्रिय भएको थियो ।
केन्द्रीय सदस्यले लडेर आउनेबारे पनि छलफल हुने
महासमिति बैठकमा सदस्यहरूले निकै जोडतोडले उठाएको केन्द्रीय सदस्य बुथबाटै निर्वाचित भएर आउनुपर्ने विषयमा पनि केन्द्रीय समितिमा छलफल हुने भएको छ । ‘महासमितिमा यस विषयमा कुरा उठेपछि सभापति र वरिष्ठ नेता पौडेल पनि सकारात्मक हुनुहुन्छ,’ महतले भने, ‘अरू देशमा पनि पनि केन्द्रीय नेताले एक कार्यकालका लागि स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था छ । तर, पनि हामी केन्द्रीय समितिमा यस विषयमा छलफल गर्छौं ।’
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले नेताहरू बुथसम्मै निर्वाचन लड्न जाँदा पार्टीलाई कार्यकर्ता र नागरकको तहमा लोकप्रिय बनाउन अझै मौका मिल्ने बताए । ‘नेताले कार्यकर्ता चिन्ने र कार्यकर्ताले नजिकबाट नेता चिन्न मात्रै होइन, पार्टीलाई लोकप्रिय र सक्रिय बनाउन पनि बुथबाटै निर्वाचन लड्ने विषय हामीले उठाएका हौँ,’ उनले भने, ‘तर, केन्द्रीय समितिमा दुईतिहाइ नेताले जोखिम भन्दै यसलाई रुचाएका छैनन् ।’
कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, गगन थापा, प्रदीप पौडेल र धनराज गुरुङसहितका केही नेताले केन्द्रीय सदस्यलाई पनि निर्वाचित भएर आउनुपर्ने प्रावधान राख्नुपर्ने पक्षमा लबिङ गर्दै आएका छन् । निरन्तर केन्द्रीय सदस्य रहेकाहरूले तलबाटै निर्वाचन लडेर आउन नपर्ने भएपछि कांग्रेसमा यस विषयमा अहिले बहस सुरु भएको हो । १३औँ महाविधेशनमा निर्वाचित भएको केन्द्रीय सदस्यलाई १४औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिमा चुनिनु नपर्ने अहिलेको व्यवस्था छ । नयाँपत्रिका दैनिकबाट