धादिङ । माओवादी जनयुद्धमा कुशल सैन्य कमाण्डरको भूमिका निभाएका दिपक बस्नेत शुरुप्रतापलाई माओवादी केन्द्रले ज्वालामुखि गाउँपालिकाको अध्यक्षमा निर्वाचित गराएको छ ।
ज्वालामुखि गाउँपालिकाको केहीदिन अघि सम्पन्न सम्मेलनले शुरुप्रतापलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
उनले धादिङ, नुवाकोट र रसुवाको विभिन्न स्थानमा भएको फौजी कारबाहीको नेतृत्व गरेका थिए । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि ब्यारेकमा रहँदा जनमुक्ति सेनाको बटालियन सहायक कमाण्डर थिए ।
उनी तेस्रो डिभिजनको विशेष अनुसन्धान विभागमा बसेका थिए । सेना समायोजन विशेष समितिमा समेत रहेर लामो समय काम गरेका उनी वाइसिएल धादिङको पहिलो उपाध्यक्ष समेत हुन् ।
२०६४ सालमा संविधान सभाको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रलाई निर्वाचित गराउन महत्वपूर्ण भूमिका समेत उनले निभाएका थिए ।
सेना समायोजन भएपछि उनी नेपाली सेनामा सामेल भएका थिए । नेपाली सेनामा करिब ७ वर्ष कार्यरत रहेका थिए । नेपाली सेनाको जमदार पदमा कार्यरत रहेकै अवस्थामा उनी शान्ति मिशनमा समेत सहभागी भएका थिए । नेपाली सेनाबाट अवकास भएपनि उनी पुन राजनीतिमै फर्किएका छन् ।
पछिल्लो समय माओवादीको जिल्ला, स्थानिय तह लगायत विभिन्न भातृ संगठनको नेतृत्वमा फौजी पृष्ठभूमिका व्यक्तिलाई नेतृत्वमा ल्याउन थालेको छ ।
वाइसिएल नेपालमा पनि फौजी पृष्ठभूमिकै व्यक्तिलाई अध्यक्ष बनाइएको छ । प्रेस संगठन नेपालको अध्यक्षमा पनि फौजी पृष्ठभूमिकै विष्णु सापकोटा जुगललाई नेतृत्वमा ल्याइएको छ ।