सुजुकीमा चौधरी बाबुछोराको मिटरब्याज आतंकबारे राष्ट्र बैंक भन्छ,-‘प्रहरीले कारबाही गर्नुपर्छ’

diyopost.com
दियो पोस्ट  शुक्रबार, मंसिर २४, २०७८ | २१:४२:३६

काठमाडौं । राजधानीको त्रिपुरेश्वरमा भूमिगत कम्पनि मार्फत मिटर ब्याज उठाइरहेका केएमसी अटोमोबाइल्स प्रालिमाथि प्रहरीले कारबाही गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

अर्बपति व्यापारी विनोद चौधरीका भाई अरुण चौधरी र अरुणका छोरा करण चौधरीद्वारा नेपालमा आधिकारिक विक्रेताको मान्यता पाएको सुजुकी मोटरले नेपालमा भूमिगत कम्पनि मार्फत मिटर ब्याज शैलीमा रकम उठाउँदै आएको फेला परेको छ । राष्ट्र बैंकबाट अनुमति समेत नलिएर हायर पर्चेचको कारोबार गरेको विषयमा दियोपोस्टले पहिलो पटक सार्वजनिक गरेको थियो ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार केएमसी अटोमोबाइल्स कम्पनिले राष्ट्र बैंकबाट हायर पर्चेचको कारोबारका लागि अनुमति नै लिएको छैन । तर, उक्त कम्पनिले सुजुकी गाडीका सेवाग्राहीमाथि ११ प्रतिशतसम्म ब्याज असुल गरिरहेको छ ।

राष्ट्र बैंकमा दर्ता समेत नभएको केएमसी अटोमोबाइल्स मार्फत मनोमानी ब्याज असुल्दै आएको यो कम्पनिले सुजुकी गाडीका प्रयोगकर्तालाई ठगी गर्दै आएको छ ।

 

पीडितहरुले लकडाउन अवधिमा समेत कम्पनिबाट अवैध रुपमा शुल्क असुल गरिएको भन्दै कार्यालयमै दिएको निवेदन र स्टेमेन्टमा देखिन्छ ।

राष्ट्र बैंकबाट हायर पर्चेचको कारोबार गर्न अनुमति लिएका १० वटा संस्थाको सुची भित्र केएमसी अटोमोबाइल्स छैन ।

‘यो हाम्रो क्षेत्राधिकार भित्र पर्दैन । हाम्रो कार्यालयमा दर्ता नै नभएको कम्पनिले अवैध रुपमा असुली गरेको छ भने प्रहरीले हेर्ने हो । कानुन कार्यान्वयन गर्ने निकाय त प्रहरी हो,’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले दियोपोस्टसँग भने,‘राष्ट्र बैंकबाट अनुमति पाएका १० वटा कम्पनि भित्र यो कम्पनि परेको छैन । त्यसैले यो अवैध हो ।’

 

राष्ट्र बैंकले निर्धारण गरेको ब्याजदरमा ऋण र ब्याजको कारोबार गर्न राष्ट्र बैंकबाटै अनुमति प्राप्त बैंक तथा वित्तिय संस्थाले मात्रै पाउँछन् । तर, चौधरीले सञ्चालन गरेको केएमसी अटोमोबाइल्सले सुजुकी गाडीका प्रयोगकर्तालाई अवैध रुपमा मिटर ब्याज असुली गरिरहेको भएतापनि नियामक निकायले कुनै कारबाही गरेको छैन ।

 

 

सम्बन्धित खबर