कांग्रेस सहमहामन्त्रीमा मिन र मानबहादुर विश्वकर्माको भिडन्त !

diyopost.com
दियो पोस्ट  शनिबार, मंसिर २५, २०७८ | १०:४६:२०

 

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्रीमा दुई जना दलित समुदायका नेताको भिडन्त हुने भएको छ । पुराना नेता मानबहादुर विश्वकर्मा र युवा नेता मिन विश्वकर्माले सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।

मिनले केहीदिन अघि नै सहमहामन्त्री पदमा उम्मेदवारी दिएका हुन् भने मान बहादुरले शुक्रबार बेलुका उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन सम्पन्न भएकै दिन मान बहादुरले प्रेस विज्ञप्ति जारी गरेर उक्त पदमा उम्मेदवारी दिएका हुन् ।

‘मेरो व्यक्तिगत राजनीतिक यात्रातर्फ म नेपाली कांग्रेसको ११औं, १२औं र १३औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, नेपाल दलित संघको संस्थापक अध्यक्ष, दुईपटक सांसद, पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री, पार्टीको नीति तथा प्रशिक्षण विभागको प्रमुख पदमा रही कार्य गरेको तथा त्रिभुवन विश्वविद्यालयमा दुई दशकसम्म प्राध्यापन गर्दागर्दै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भई प्राध्यापन पेशाबाट पूर्णकालीन राजनीतिमा प्रवेश गरेको हुँ,’ मानबहादुरले विज्ञप्तिमा भनेका छन्,‘साढे तीन दशक लामो राजनीतिक यात्राका क्रममा पार्टीले दिएका सबै जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेको
छु । प्रजातान्त्रिक एवम् लोकतान्त्रिक आन्दोलनमा कैयौंपटक गिरफ्तार भई पटक–पटक जेल सजाय भोग्दै आएको छु । तसर्थ, पार्टीको सह–महामन्त्रीका लागि म योग्य उम्मेदवार हुँ भन्ने मेरो दाबीलाई योे प्रेस विज्ञप्तिमार्फत् पार्टीका सम्पूर्ण साथीहरु समक्ष अवगत गराउँछु ।’

उनले पार्टी सहमहामन्त्रीमा दलित कोटाबाट उम्मेदवारी दिएका हुन् । यता मिन विश्वकर्माले खुला तर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन ।

कांग्रेसको आन्तरिक प्रतिष्पर्धामा मान बहादुर रामचन्द्र पौडेल खेमाका मानिन्छन् । यता मिन विश्वकर्मा भने शेरबहादुर देउवा निकट मानिन्छन् ।

सम्बन्धित खबर