काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सभापतिको उम्मेदवारी घोषणा गरेका एक उम्मेदवार नेपालमा मास्क कालोबजारीको अभियुक्त समेत रहेको पाइएको छ ।
नेपाली कांग्रेसको सभापतिको उम्मेदवारी दिएका गोर्खाको आरुघाट घर भएका युवराज न्यौपानेबारे यस्तो तथ्य फेला परेको हो । नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि महानगरीय प्रहरी अपराध महासाखाले मास्क कालोबजारी गर्ने विरुद्ध कारबाही अघि बढाएको थियो ।
२०७६ चैत्र ५ गते महासाखाले काठमाडौं महानगरपालिका १५ सानो भर्याङ्गस्थित न्यौपानेले सञ्चालन गरेको दीप ओभरसिजको गोदाममा छापा मारेको थियो ।
प्रहरीले १० लाख भन्दा बढी मास्क कालोबजारी गर्न थुपारेको अभियोगमा न्यौपानेलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।
उनै न्यौपानेले कांग्रेस सभापतिमा उम्मेदवारी दिएका हुन् । उनले आजै सभापतिका लागि उम्मेदवारी दिएको जानकारी दिएका छन् ।