सेन्चुरी बैंकमा ठूलाबडाको समलग्नतामा १६ करोड रुपैयाँ घोटाला भएको खुलाशा

diyopost.com
दियो पोस्ट  आइतबार, मंसिर २६, २०७८ | १६:१४:५४

काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये आफूलाई कान्छो वाणिज्य बैंकको रुपमा परिभाषित गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकमा १६ करोड रुपैयाँबराबरको रकम अपचलन भएको खुलेको छ । बैंकले मौरिससमा दर्ता कायम रहेको एमएण्डएम रेमिटलाई कारोबारबापतको भुक्तानी रकम नदिएपछि सेञ्चुरी बैंकमा भएको १६ करोड रुपैयाँबराबरको रकम अपचलनको घटना सार्वजनिक भएको हो ।

स्रोतका अनुसार सेञ्चुरी कमर्सियल बैंक र मौरिससमा दर्ता कायम रहेको एमएण्डएम रेमिटबीच रेमिट्यान्स कारोबारको लागि आधिकारिक सम्झौता भएको थियो । सोही सम्झौताबमोजिम दुवै कम्पनीहरुले रेमिट्यान्स कारोबार गर्दै आएका थिए । पछि सेञ्चुरीले हङकङमा रहेको ग्यालेक्सी रेमिट्यान्स कम्पनीलाई चिनाएको थियो । स्रोतका अनुसार ग्यालेक्सी रेमिट्यान्स सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जीवन कुमार भट्टराई र रमेश कुमार श्रेष्ठको संलग्नता खुलेको कम्पनी हो । यी दुई व्यक्तिहरु सेञ्चुरीकै तत्कालीन प्रमुख कार्यकारी र सञ्चालक हुन् । सेञ्चुरी कमर्सियल बैंकले आधिकारिक रुपमा नै एमएण्डएम रेमिटसँगको कारोबार गर्दै आएको थियो । सोहीअनुरुप कारोबार गर्दै जाँँदा एमएण्डएम रेमिटले हङकङको ग्यालेक्सी रेमिटसँग १६ करोड रुपैयाँ लिनुपर्ने देखियो भने एमएण्डएम रेमिटले सेञ्चुरी कमर्सियल बैंकलाई छ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने देखियो ।

सो अनुरुप सेञ्चुरीले एमएण्डएम रेमिटलाई छ करोड रुपैयाँ तिर भनेर ताकेता ग-यो । त्यसपश्चात् एमएण्डएम रेमिटका अध्यक्ष सुमन पन्त (जो हाल मौरिससमा नै रहेका छन्) ले एमएण्डएम रेमिटले ग्यालेक्सी रेमिटन्ससँग सेञ्चुरीले नै भनेको आधारमा कारोबार गरेको र ग्यालेक्सीसँगै उल्टै आफ्नो कम्पनीले १६ करोड रुपैयाँ लिनुपर्ने दायित्व देखिएको जवाफ पठाए ।

तर सेञ्चुरी कमर्सियल बैंकको वर्तमान व्यवस्थापनले भने ग्यालेक्सी र एमएण्डएम रेमिटबीचको कारोबार बैंकको पुरानो व्यवस्थापन र पुरानो सञ्चालकले गरेको र त्यो कारोबार उनीहरुको नितान्त व्यक्तिगत रहेको भन्दै त्यो समस्या समाधान गर्ने दायित्व पनि पुरानै सञ्चालक र व्यवस्थापनको भएकाले बैंकको वर्तमान सञ्चालक तथा व्यवस्थापनले उक्त कारोबारको दायित्व नबोक्ने भन्दै पन्छिँदै आएको एमएण्डएम रेमिटका अध्यक्ष पन्तले बताए ।

सो विषयमा एमएण्डएम रेमिटका अध्यक्ष पन्तले भने, ‘सेञ्चुरीले एमएण्डएम रेमिटसँग आधिकारिकरुपमा सम्झौता गरेपश्चात् नै कारोबार गरेको र अहिले त्यो कारोबार आफ्नो होइन भन्न कसरी पाउँछ ? बैंक, बैंक नै हो, सम्झौता सम्झौता नै हो, बैंकका आधिकारिक व्यक्तिले सम्झौता गरेपछि त्यो पुरानो व्यवस्थापनले गरेको काम हो, नयाँ व्यवस्थापनले यसको जिम्मा लिँदैन भनेर कसरी भन्न पाउँछ ?’

कसरी जोडिन्छ कुमारीको १९ करोड र सेञ्चुरीको १६ करोडको अपचलनको काण्ड ?

कुमारी बैंक यतिखेर गायक योगेश्वर अमात्यको नाउँमा बनाइएको नक्कली कागजपत्रको आधारमा १९ करोड रुपैयाँ कर्जा दिएको मुद्दामा फसेको छ । सेञ्चुरीमा पनि अहिले १६ करोड रुपैयाँ अपचलनको यस्तै घटना सार्वजनिक भएको छ । तर उक्त घटनामा संस्था फरक भए पनि त्यसमा संलग्न केही पात्रहरु भने एउटै व्यक्तिहरु भएको दाबी स्रोतले गरेको छ ।

स्रोतका अनुसार सेञ्चुरी र एमएन्डएम रेमिटबीचको कारोबारमा देखाइएको हङकङमा दर्ता रहेको भनिएको ग्यालेक्सी रेमिट्यान्स कम्पनीको सञ्चालकहरुमा जगन्नाथ ज्ञवाली, कृष्ण ज्ञवाली र पम्फा ज्ञवाली रहेका छन् । तीमध्ये कृष्ण ज्ञवाली कुमारी बैंकमा समेत सञ्चालक रहेका छन् । त्यतिबेला सेञ्चुरीमा बैंकमा डेपुटी सीईओको रुपमा अनुजमणि तिमिल्सिना नै रहेका थिए । हाल उनी सेञ्चुरी छोडेर कुमारी बैंकमा डीसीओको रुपमा आएका छन् । स्रोतका अनुसार ग्यालेक्सी रेमिटका ज्ञवालीसहितको टोलीले नै तिमिल्सिनालाई कुमारी बैंकमा ल्याएको थियो । जहाँ तिमिल्सिना डीसीओ भएर आएपछि १९ करोडको नक्कली जग्गा धितो कर्जासम्बन्धी काण्ड देखिएको छ ।

राम्रो रेमिट र ग्यालेक्सी रेमिटसँग पनि यस्तै घटना
रेमिट्यान्स कारोबारको भुक्तानीसम्बन्धी विवाद राम्रो रेमिट र ग्यालेक्सी रेमिटबीच पनि भएको थियो । तर उक्त विवादमा राम्रो रेमिटले ग्यालेक्सीसँग रकम लिएर सो विवाद सेटल गरेको स्रोतले भनेको छ ।

स्रोतका अनुसार राम्रो रेमिट सेञ्चुरी कमर्सियल बैंकका सञ्चालकहरु राजेश कुमार श्रेष्ठ, रण बहादुर श्रेष्ठ, जीवन कुमार भट्टराई र रमेश कुमार श्रेष्ठको नाउँमा दर्ता रहेको कम्पनी हो । हाल यो कम्पनीको व्यवस्थापन सेञ्चुरी कमर्सियल बैंककै तत्कालीन प्रमुख कार्यकारी अधिकृत जीवन कुमार भट्टराईले सम्हाल्दै आएका छन् । राम्रो रेमिटमा सेञ्चुरी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जीवन कुमार भट्टराईकी श्रीमती (जो अहिले ब्रिटिश एम्बेसीमा ठूलै तहमा कार्यरत रहेकी छिन्) र रमेश श्रेष्ठकी श्रीमती नविना श्रेष्ठको ठूलो परिमाणमा सेयर लगानी रहेको छ ।

सेञ्चुरी बैंक र एमएन्डएम रेमिटबिचको समस्या के हो ?

एमएण्डएम रेमिटका अध्यक्ष सुमन पन्तका अनुसार सेञ्चुरी कमर्सियल बैंकले एमएण्डएम रेमिटलाई ग्यालेक्सी रेमिट्यान्स कम्पनीसँग कारोबार गर भनेको थियो । सोहीबमोजिम एमएण्डएम रेमिट र ग्यालेक्सी रेमिट्यान्सबीच कारोबार भयो । त्यो काम सेञ्चुरी बैंककै पुतलीसडक शाखाले हेर्ने गरेको थियो ।

 

अहिले बैंकले ग्यालेक्सी रेमिट्यान्स कम्पनी चिन्दैनौँ, त्यो कारोबार त्यतिबेलाको सेञ्चुरी बैंकको अध्यक्षले गरेको हो । अहिले यो भ्यालिड छैन भनेर पन्छिने गरेको छ । तर यसबीचमा सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक एवं व्यवस्थापन समितिले भने हालसम्म केही गरेको छैन । बैंकले यस विषयमा जानकारी माग्दा समाधान गर्ने प्रयास गरिरहेको भने पनि एमएण्डएम रेमिटका प्रतिनिधिले भने सेञ्चुरीले बैंकले हालसम्म यस विषयमा केही नगरेको बताउँदै आएको छ । ‘यदि यस्तै गर्ने हो भने यो कारोबारमा प्रत्यक्षरुपमा संलग्न रहेको सेञ्चुरी कमर्सियल बैंक, अप्रत्यक्षरुपमा संलग्न रहेको सेञ्चुरी कमर्सियल बैंकको डलर कारोबारमा संलग्न रहेको करेस्पोन्डेड बैंक दुुबईको मस्रिक बैंकविरुद्ध संसारभरको अमेरिकी डलर कारोबारको नियमनकारी निकाय न्युयोर्क स्टेट डिपार्टमेन्ट अफ फाइनान्सियल सर्भिसमा समेत जाहेरी दिनुुपर्ने अवस्था आउन सक्छ’, एमएण्डएम रेमिटका अध्यक्ष पन्तले भनेका छन् । रेमिटबिचको समस्या के हो ?

के भन्छन्– नेपाल राष्ट्र बैंक र केन्द्रीय अनुसन्धान ब्युरोका प्रतिनिधि ?

‘सेञ्चुरी कमर्सियल बैंक र एमएण्डएम रेमिटबीच भएको भनिएको १६ करोड रुपैयाँ भुक्तानीसम्बन्धी विवादका समाचारहरु हामीले पनि सुनेका छौँ तर सेञ्चुरी बैंकसँग सम्बन्धित एउटा रेमिट्यान्स कम्पनीको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ, यो विषयमा मलाई त्यति धेरै जानकारी छैन । हुनसक्छ, यो मुद्दा त्यही नै हो, यस अर्थमा अदालतमा विचाराधीन मुद्दामा बोल्नुहुँदैन’, केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता श्यामकुमार महतोले भने, ‘सेञ्चुरी र रेमिट्यान्स कम्पनीबीचको लेनदेनको विषयमा भएको विवादको निरुपण गर्नको लागि नियमनकारी निकाय नेपाल राष्ट्र बैंक पनि छ, सायद लाग्छ, यो विषयमा राष्ट्र बैंकले पनि अनुसन्धान गरिरहेको छ ।’

 

उक्त घटना कुमारी बैंकको वर्तमान व्यवस्थापन समितिसँग पनि जोडिएको र कुमारी बैंकमा भएको गायक योगेश्वर अमात्यको नाउँमा रहेको जग्गाको नक्कली कागजात बनाएर प्रवाह गरेको १९ करोड रुपैयाँ कर्जासम्बन्धी मुद्दा अहिले अनुसन्धानकै क्रमम रहेको छ । फेरि तिनै व्यक्तिहरु सेञ्चुरी कमर्सियल बैंकको १६ करोड रुपैयाँ अपचलनको काण्डमा पनि जोडिएको भन्ने आरोप छ, यी दुवै घटनाका विषयमा अहिले केही बोल्न नहुने प्रवक्ता महतोको भनाइ छ ।

यही विषयमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीले भने खुुलेर कुरा गर्न चाहेनन् । सो विषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालसँग जानकारी माग्दा यो विषय विदेशी विनिमय विभागले हेर्ने हुँदा सोही शाखामा सम्पर्क गर्न आग्रह गरे । ‘सेञ्चुरी र ग्यालेक्सी रेमिटको विषयमा होइन, सेञ्चुरी र एमएण्डएम रेमिटको विषयमा भने भुक्तानीसम्बन्धी विवाद देखियो, यसको जानकारी मलाई छैन, विदेशी विनिमय विभागमा सम्पर्क गर्नुहोस्’, प्रवक्ता ढकालले भने । सोही विषयमा नेपाल राष्ट्र बैंककै सहप्रवक्ता एवं सूचना अधिकृत नारायण प्रसाद पोखरेलसँग पनि सम्पर्क गर्दा उनले सेञ्चुरी र एमएण्डएम रेमिटको विषयमा भएको भुक्तानी विवादको बारेमा जानकारी नभएको बताए । ‘मेरो लागि यौ नौलो घटना हो, यस विषयमा म अनभिज्ञ छु’, उनले भने । उनले यसको विषयमा विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलसँग सम्पर्क गर्न आग्रह गरे ।

सहप्रवक्ता पोखरेलकै आग्रहमा विदेशी विनिमय विभागका प्रमुख पौडेलसँग सम्पर्क गर्दा यो विषय निकै पुरानो हुनसक्ने र आफू भर्खरै यो विभागमा आएकाले यसको जानकारी आफूलाई नभएको बताए । ‘जहाँसम्म राष्ट्र बैंकले सेञ्चुरीकोे तत्कालीन व्यवस्थापन प्र्रमुख जीवन कुमार भट्टराई र रमेश कुमार श्रेष्ठको नाउँमा पत्र काटेको भन्ने कुरा छ, त्यस्तो पत्र काट्ने काम नियमन विभागको हो, यो विषयमा नियमन विभागका प्रमुख नै बढी जानकार हुुनुहुन्छ होला’, पौडेलले भने । यता नियमन विभागका प्रमुख देवुकुमार ढकाल जो राष्ट्र बैंकका प्रवक्ता समेत हुन् उनले भने यस विषयमा आफूलाई त्यति जानकारी नभएको भन्दै पन्छिने काम गरे । (आर्थिक देनिकबाट)

सम्बन्धित खबर