महरा र बास्कोटाको फोटो राखेर कांग्रेस केन्द्रीय सदस्य बन्न पत्रकारको प्रचार प्रसार !

diyopost.com
दियो पोस्ट  आइतबार, मंसिर २६, २०७८ | २१:११:१२

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन जारी छ । महाधिवेशनमा उम्मेदवार बनेका नेताहरुले आ–आफ्नो प्रचार गरिरहेका छन् । प्रचारकै क्रममा सार्वजनिक भएको एउटा ब्रोसरले भने नेपालका दुई ठूला प्रकरण नियोजित थियो ? भन्ने आशंका उब्जिएको छ ।

प्रेस युनियनको महासचिव समेत रहेका अजय बाबु सिवाकोटी कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । उनको उम्मेदवारी पर्नु स्वभाविक हो । किन भने उनी कांग्रेस निकट पत्रकार संगठनको महासचिव भइसकेका व्यक्ति हुन् । तर, उनले सार्वजनिक गरेको प्रचार सामग्रीले भने कुनै समय ठूलो हंगामा मच्चिएको दुई वटा प्रकरण नियोजित थियो भन्ने पुष्टि गर्दछ ।

सिवाकोटीले सार्वजनिक गरेको ब्रोसरमा दुई तर्फ कृष्ण बहादुर महरा र गोकुल बास्कोटाको तस्विर छ । उनीहरुको तस्विरको बीचमा लेखिएको छ,‘महरालाई सभामुख र बास्कोटालाई सञ्चार मन्त्री पदबाट पद्च्युत गर्ने साहसी पत्रकार’ !
यी दुई जनाकै फोटोको माथि अजयको फोटो राखिएको छ र लेखिएको छ,‘अजय बाबु शिवाकोटी, केन्द्रीय सदस्य पदको उम्मेदवार (खुला तर्फ) अत्याधिक मतले विजयी गराऔँ ।’

सिवाकोटी पत्रकारीतामा प्रतिभावान व्यक्ति हुन् । तर, उनले भोट माग्नकै लागि आफूले लेखेको समाचारलाई बहाना बनाउनु मतदाताप्रतिको ब्ल्याकमेलिङ भएको एक जना पुराना पत्रकार बताउँछन् ।

सिवाकोटीद्वारा सञ्चालित एक अनलाइनले महरा र रोशनी शाहीबीचको सम्बन्धबारे समाचार ब्रेक गरेको थियो । त्यस्तै गोकुल बास्कोटाले ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो पनि उनै सिवाकोटीद्वारा सञ्चालित अनलाइनले सार्वजनिक गरेको थियो ।

सम्बन्धित खबर