सुरु भयाे कांग्रेसकाे मतदान

diyopost.com
दियो पोस्ट  सोमबार, मंसिर २७, २०७८ | १४:५७:१२

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान  साढे तीन घण्टा पछी सुरु भएकाे हाे । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ ।

निर्चावन समितिले मतपत्र छपाइमा  ढिलाे हुँदा मतदान समयमै सुरु गर्न नसकेकाे बताएकाे छ । मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा व्यवस्था मिलाइएको छ । भोट खसाल्न प्रतिनिधिहरू बिहानैदेखि लामबद्ध भएका छन् । उम्मेदवारहरू भने मत माग्न व्यस्त छन् ।

सभापति पदका लागि ५, उपसभापतिमा ७,  महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ । एक जना कोषाध्यक्षसहित ३३ जना केन्द्रीय सदस्य पछि मनोनीत गर्ने व्यवस्था कांग्रेसमा छ ।

महाधिवेशनबाट सभापति दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् । मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिको नामावली सार्वजनिक भएको छ ।

शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ बाट दुई केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना भने निर्विरोध भएका छन् ।

सम्बन्धित खबर