काठमाडौं । सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङ जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाको इजलाशले तामाङ र सिभिल सहकारीका अध्यक्ष तथा तामाङका मामा ससुरा केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
लामो समयदेखि प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीको हिरासतमा रहेका तामाङ र श्रेष्ठलाई जेल चलान गर्ने आदेश भएको हो । उनीहरु विरुद्ध सिआइबलिे ठगी र संगठीत अपराध मुद्दा लगाएको थियो ।
अन्य नौ जनालाई भने धरौटी खुलेको सिआइबीका प्रवक्ता एसपी श्याम कुमार महतोले दियोपोस्टलाई जानकारी दिए ।
सिभिल सहकारी ठगी प्रकरणमा तामाङ, श्रेष्ठसहित केन्द्रीय अनुसन्धान ब्युरोले १२ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । ती मध्य १ जनालाई भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ । अदालतका अनुसार साधारण तारेखमा रिहा भएका सिभिल सहकारीकै कर्मचारी संगीत श्रेष्ठ हुन् ।
पक्राउ परेका १२ जना विरुद्ध सिआइबीले पाँच अर्ब ६३ करोड बिगो माग गरी मुद्दा दायर गरिएको थियो ।
सिभिल सहकारी ठगी प्रकरणमा तामाङसहित १२ जनाविरूद्ध १५०३ जना निक्षेपकर्ताले सिआइबीमा जाहेरी दिएका थिए ।