'; '; ';

मेची पुल निर्माणको एक वर्ष बितिसक्दा पनि संचालनमा आएन

मेची पुल निर्माणको एक वर्ष बितिसक्दा पनि संचालनमा आएन

भद्रपुर, कात्तिक ९ । नेपालको पुरानो सहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षित मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

हुलाकी राजमार्ग निर्माण परियोजनाले ३७ करोड रुपैयाँको लागतमा मेची नदीमा ५६० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पक्की पुलको निर्माण गत वर्ष नै सम्पन्न गरेको हो । तर, पुलसम्म जान वारि र पारि दुवैपट्टि सडक निर्माण नभएको कारण मेची पुल सञ्चालनमा आउन सकेको छैन । वारि र पारि दुवैपट्टि पक्की सडकले जोडेर मेची पुललाई छिटो सञ्चालनमा ल्याउनुपर्ने दुवै देशका बासिन्दाको माग छ ।

हुलाकी राजमार्ग परियोजनाले जनाएअनुसार नवनिर्मित पुललाई हुलाकी राजमार्गको प्रस्थान बिन्दु झापाचोकसँग जोड्न नेपालतिर एक हजार ३०० मिटर सडक बनाउनुपर्ने भएको छ । भद्रपुर नगरपालिकाको वडा नं। ५ मा बनेको सो पुलको मेची नदी पूर्व र पश्चिम दुवैतिरको पुरै भाग नेपाली भूमिमा पर्ने भएको हुँदा पुल र सडक बनाउने जिम्मेवारीसमेत नेपालकै हो । भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्की नेपाल सरकारले पश्चिमतिर अब बन्ने सडक क्षेत्रमा रहेका घर तथा जग्गाहरूको मुआब्जा दिन ढिलाइ गरिरहेको कारण पुल र हुलाकी मार्ग जोड्ने सडक निर्माणमा विलम्ब भइरहेको बताए ।

नवनिर्मित पुलबाट २९० मिटरभित्र परेका भद्रपुर भन्सार कार्यालयसहित ४२ घर तथा जग्गाको मुआब्जा भने सरकारले दिइसकेको बताइएको छ । भन्सारको मुख्य भवन र अन्य निजी घरहरू अब बन्ने सडक सीमाभित्र पर्ने भएकाले ती संरचना भत्काउन थालिएको छ । तर, २९० मिटरभन्दा पश्चिमतिरका ३६ परिवारका जग्गा तथा घरहरूलाई भने सरकारले मुआब्जा अझैसम्म नदिएको मुआब्जाका लागि गठन भएको संघर्ष समितिका अध्यक्ष इन्द्रकान्त झाले बताए ।

मेची पुलको पूर्वी किनारमै नेपाल–भारत सीमा नजिकै १०१ नम्बरको स्तम्भ रहेको छ । भारततिर करिब ५ सय मिटरसम्म सडकको कुनै ट्र्याकसमेत कोरिएको छैन । पुलको पूर्वी भाग नेपाल र भारतको सीमा क्षेत्रमा मात्र नभएर भारतकै पश्चिम बंगाल र बिहार प्रान्तको समेत सीमा क्षेत्र भएकाले पुललाई बिहार कि बंगाल कसको सडकसँग जोड्ने भन्ने विवादको अझैसम्म टुंगो लाग्न सकेको छैन ।

पूर्वी भागमा सय मिटर सडक नेपालले बनाउने र अरू सडक भारतको सीमाभित्र भएकाले उतैबाट निर्माण हुनुपर्ने प्रदेश सांसद वसन्त बानियाँले बताए । ‘नेपालतिर बनाउनुपर्ने सडकको मुआब्जा विवाद समाधान नजिक पुगिसकेको छ,’ प्रदेश सांसद बानियाँलेभने,

‘भारततिर बिहार वा बंगाल जता जोडे पनि पुलबाट सडक सीधा रेखामा हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

विहारतिर सडक लैजाँदा दशगजा क्षेत्रबाट ५ सय मिटर जति दक्षिण भादगाउँ घुमाउनुपर्ने हुन्छ भने भादगाउँबाट गलगलिया पुग्न कार मात्र गुड्न सक्ने साँघुरो पक्की सडक अहिले पनि छ । तर, पुलको मुखबाटै सडकलाई घुमाउँदा लामो र ठूला सवारीको आवागमनमा कठिनाइ हुन सक्ने आशं्का भएकाले सीधा भादगाउँ जोड्दा उपयुक्त हुने सुझाव भारतीय पक्षलाई आफूहरूले दिएको प्रदेश सांसद बानियाँले जानकारी दिए ।

सीधा पूर्वतर्फ सडक लैजाने हो भने पश्चिम बंगालका धेरै भूभागबाट बिहार जोड्ने सडक निर्माण गर्नुपर्ने हुन्छ । भन्सार, रेलवे, बस टर्मिनल, बजारलगायतका सुविधा बिहारको गलगलियामा रहेका कारण पुल जोड्ने सडकलाई बंगाल हुँदै लैजान बिहारका बासिन्दा इच्छुक नरहेको गलगलियाका व्यवसायी रामकिसन यादव बताए । पुलको पूर्वी भागबाट करिब सय मिटर दूरीमा रहेको भारतीय सशस्त्र सीमा बल पश्चिम बंगालका सहायक उपनिरीक्षक कैलाश सिंह पटियालले बिहार, पश्चिम बंगाल र नेपालको त्रिकोणात्मक बिन्दु नजिकै पुल बनेको जनाउँदै सडक कताबाट लैजाने भन्ने जानकारी आफूहरूलाई नभएको बताए ।रासस

० प्रतिक्रिया




ट्रेन्डिङ