'; '; ';

गजुरी गाउँपालिकामा भ्रष्टाचार : करोडौँ अनियमितताको पोल खुलेपछि रातारात ठेक्का नै रद्द !

गजुरी गाउँपालिकामा भ्रष्टाचार : करोडौँ अनियमितताको पोल खुलेपछि रातारात ठेक्का नै रद्द !

  दियोपोस्ट संवाददाता

धादिङ, २० कार्तिक । धादिङको गजुरी गाउँपालिकामा नितिगत भ्रष्टाचार भएको पाइएको छ ।  गजुरी गाउँपालिका अन्तर्गत बालुवा, गिट्टी निकासी करमा गाउँपालिका अध्यक्ष सहितका पदाधिकारीले अनियमितता गरेको भन्दै स्थानियबासीले छानबीनको माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला समन्वय समितिमा उजुरी दिएका हुन् ।

२०७५ श्रावण १ गतेदेखि एक वर्षका लागि बालुवा, गिटी निकासी कर उठाउन एक ठेकेदारलाई ठेक्का दिने गरी ठेक्का खोलेको थियो । स्थानिय बासीका अनुसार एक वर्षमा कुल करसहित ४ करोड ४० लाखमा ठेक्का दिइएको भएपनि चार महिनामा असोजसम्म ७ करोड बराबरको रकम उठेको छ ।

दियोपोस्टलाई प्राप्त विवरण अनुसार गाउँपालिकाले मासिक डेढ करोड सम्म रकम उठाएको भएतापनि ठेकेदार कम्पनिलाई भने बार्षिक चार करोड ४० लाख मात्रै उठाउने जिम्मा दिइएपछि करोडौँ अनियमितता भएको आशंका गरिएको हो ।

गजुरीबासीले गाउँपालिकाका पदाधिकारीले भ्रष्टाचार गरेको भन्दै छानबीन गर्न उजुरी दिएका हुन् । उजुरीबासीले गाउँपालिकाले नितिगत भ्रष्टाचार गरेको स्पष्ट भएकाले छानबीन गर्नुपर्ने माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा २८ जना स्थानियबासीले उजुरी दिएको भएता पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिले कुनै छानबीन अघि बढाएको छैन ।


स्थानियबासीले ठेक्का रद्द गरी पुन : ठेक्का आह्वान गर्न समेत माग गरेका छन् । गाउँपालिका अध्यक्ष राजेन्द्र किशोर बस्नेतलाई सम्बोधन गर्दै निवेदन समेत दिइएको छ ।

दियोपोस्टलाई प्राप्त भएको विवरण अनुसार साउन महिनामै १ करोड २२ लाख ६३ हजार ६ सय ४४ रुपैयाँ राजस्व उठेको देखिन्छ । त्यस्तै भाद्र महिनामा एक करोड ३१ लाख रुपैयाँ राजश्व प्राप्त भएको विवरण गाउँपालिका कार्यालयमा छ । यसरी हेर्दा वर्षमा १५ करोड बराबरको राजश्व उठ्ने पक्का पक्कि भएपनि गाउँपालिकाले भने चार करोड चालिस लाखमा ठेक्का दिएको देखिन्छ ।

ठेक्का रद्द गर्ने तयारी !

चौतर्फी रुपमा विवाद भएपछि गाउँपालिकाले उक्त ठेक्का रद्द गर्ने तयारी गरेको पाइएको छ । स्रोतका अनुसार गाउँपालिका पदाधिकारी, राजनीतिक दलका नेता सहित बसेको बैठकले उक्त ठेक्कालाई पुन आह्वान गर्ने तयारी गरिएको बताइन्छ ।

समाचार प्रकाशन भएको २ घण्टामै ठेक्का रद्द !

यसैबीच गाउँपालिकाले उक्त ठेक्का रद्द गरेको छ । दियोपोस्ट डटकममा समाचार प्रकाशन भएको २ घण्टापछि गाउँपालिकाले एक सुचना जारी गर्दै ठेक्का रद्द भएको जनाएको हो ।

० प्रतिक्रिया




ट्रेन्डिङ