'; '; ';

सामाजिक सञ्जालमा चर्को आलोचना : ‘पोलपोलमा प्रधानमन्त्री, समृद्ध नेपाल सुखी नेपाली,’ खर्च ८ करोड !

सामाजिक सञ्जालमा चर्को आलोचना : ‘पोलपोलमा प्रधानमन्त्री, समृद्ध नेपाल सुखी नेपाली,’ खर्च ८ करोड !

काठमाडौं, ११ मंसिर । पेन्सनसहित सामाजिक सुरक्षा योजनाका लागि सरकारले गरेको भड्किलो प्रचारशैलीप्रति सामाजिक संजालमा तिब्र आलोचना भएको छ ।

सामाजिक सुरक्षा कोष बनाएर सरकारले आजबाट सुरु गर्न लागेको योजनाको विषयभन्दा यसको लागि गरिएको खर्चिलो र भड्किलो प्रचारप्रति सामाजिक संजालमा, विरोध, रोष, व्यंग्य, आक्रोस व्यक्त गरिएको छ ।

मुख्य गरी श्रमिकका लागि संचयकोष, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाका लागि योजना, विभिन्न दुर्घटना तथा अशक्तहरुका लागि योजना, आश्रित परिवारलाई सुरक्षा योजना, वृद्धवृद्धाको सुरक्षा योजनालाई व्यवस्थित रुपले ल्याउने गरी सरकारले अभियान सुरु गर्नु आफैंमा राम्रो भए पनि काम नै सुरु नभइकन भड्किलो प्रचार गरिएकोप्रति सामाजिक संजालमा यसरी आशंका र आक्रोस एकैपटक देखिन पुगेको हो ।

विज्ञापनप्रति सामाजिक संजालमा आक्रोस, व्यंग्य र विरोध

युग सुरु हुँदैछ उत्साहको
उत्सव मनाउँदैछ देशले
सामाजिक सुरक्षाको

भन्दै चल्तीका प्रायः सबै न्युज पोर्टलहरुमा यो विज्ञापन दिइएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोष नेपालले सामाजिक सुरक्षा योजना शुभारम्भ मंगलबारदेखि सुरु हुने भन्दै यसरी अनलाइनमा मात्रै विज्ञापन गरेको छैन ।
आज काठमाडौंबाट प्रकाशित भएका लगभग सबै दैनिक पत्रिकाहरुमा प्रधानमन्त्री केपी ओली र श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टका ठूला फोटा राखिएर ज्याकेट एड (विज्ञापन) छापिएको छ । जसमा ठूला दैनिक पत्रिकामात्र परेका छैनन् । कम चर्चामा रहेका दैनिकहरुलेसमेत ज्याकेट एड हाल्ने सौभाग्य पाएका छन् ।

पत्रिकाहरुको पहिलो पृष्ठमैं नयाँ युगको सुरुवात भन्दै प्रधानमन्त्री ओलीको ठूलो फोटो छापिएको छ । हिजो संविधानमा भन्यौं, सामाजिक सुरक्षा श्रमिकको मौलिक हक । बजेटमा बाचा गर्यौं, एकीकृत सामाजिक सुरक्षा, हाम्रो प्राथमिकता । आज पूरा गर्दैर्छौ वाचा, लागू हुँदैछ सामाजिक सुरक्षा भन्दै ओलीको ठूलो फोटोमुनी यो विवरण दिइएको छ ।

ज्याकेट एडको दोस्रो पेजमा मन्त्री विष्टको ठूलो फोटो छापिएको छ । जसमा सहभागिता योगदान र सामाजिक सुरक्षा भन्दै अभियानबारे प्रष्ट्याइएको छ ।
तर, सरकारले कार्यक्र सुरु नै गर्दा यत्ति धेरै खर्च गरी भड्किलो प्रचार गरेको प्रति सामाजिक संजालमा तीव्र प्रतिक्रिया व्यक्त भएका हुन् ।

मिडिया कन्टेन्टलाई नजिकबाट पछ्याइरहेका भानुभक्त आचार्यले कार्यक्रम सफल भएपछि खुशी साट्ने मौका पाइने भन्दै प्रधानमन्त्रीलाई गलत सल्लाह दिइएको लेखेका छन् । जनताको करमा फजुल खर्च गरेर पूर्व राजा ज्ञानेन्द्रको झल्को दिएको भन्दै उनले राज्यको लगानीमा भएको प्रापोगान्डा भनेका छन् । सबै दैनिक पत्रिकाहरुको फोटोसमेत उनले फेसबुकका पोस्ट गर्दै नतिजा दिएको भए प्रचारमा यसरी रमाउनै पर्ने थिएन भन्दै सरकारलाई सचेत गराएका छन् ।

सरकारको विरोधमा मिडियाकर्मी

यी विज्ञापन छापिएका संचारमाध्यममा काम गर्ने पत्रकारहरुले समेत सरकारको यो शैलीको विरोध गरेका छन् । राजधानीका पोलपोलमा प्रधानमन्त्रीका सन्देश लेखेका बोर्ड झुण्ड्याइएको, अनावश्यक विज्ञापन गरेको भन्दै आफ्नै माध्यममा छापिएका विज्ञापनप्रति पत्रकारहरुले नै सांकेतिक विरोध जनाएका हुन् ।

यसरी प्रचार गर्नुलाई जसको सल्लाहमा गरिएको भए पनि गलत भनेर नलेख्ने मिडियाकर्मी थोरैमात्र छन् ।

दलहरुबाट विरोध हुने क्रम सुरु

सरकारले काम सुरु गर्दै गर्दा प्रचारमा भड्काउ देखाएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका भ्रातृ संस्थाबाट विरोधका स्वर सुनिन थालेको छ । नेविसंघका प्रवक्ता प्रेम जोशीले सरकारको यो शैलीलाई गोयबल्स शैलीसँग तुलना गरेका छन् ।

कांग्रेसका प्रभावशाली नेताहरुले यो अभियानको विरोध गरिसकेका छैनन् । तर, ढिलोचाँडो उनीहरुबाट पनि विरोध हुने देखिन्छ ।

विरोध नै विरोध

सामाजिक संजालमा सरला गौतमले लेखेकी छिन् : विरोध गर्न नी लाज लाग्ने तहमा तमासा त नगर्नु नी । को होला यस्तो सर्कस देखाउन सल्लाह दिने हैट भन्दै सबै पत्रिकारुको विज्ञापन आएको फोटो पोस्ट गरेकी छिन् ।

केहीले राती सुत्नु अघि पुरानो युग भए पनि बिहान उठ्दा नयाँ युगको सुरुवात भएछ भनेर सामाजिक संजालमा सांकेतिक विरोध पनि गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्रीको पोलमा टाँसिएको फोटो सहित लेखेका छन्,‘पोलपोलमा प्रधानमन्त्री, समृद्ध नेपाल सुखी नेपाली ।’

० प्रतिक्रिया




ट्रेन्डिङ