'; '; ';

मालपोतमा मालामाल : सामान्यलाई सास्ती, ठूलालाई फास्ट-ट्र्याक

मालपोतमा मालामाल : सामान्यलाई सास्ती, ठूलालाई फास्ट-ट्र्याक

काठमाडौं, मंसिर १८ । बिहान ११:१९ बजे। एक सेवाग्राही महिलाले झोलाबाट एकएक सयका दुई वटा नोट निकालिन्। उनले त्यो पैसा मुठी पारिन्। एक महिला कर्मचारी र ती सेवाग्राहीबीच मसिनो स्वरमा संवाद चल्यो।

महिला कर्मचारी : यति काम गरिदिएपछि तपाईंले पनि केही व्यवस्था गरिदिनुपर्‍यो नि !

सेवाग्राही : त्यसको चिन्तै नगर्नुस्। पहिला काम गरिदिनुस्।

वार्तालापपछि सेवाग्राही हातमा फाइल बोकेर कर्मचारीको पछि लागिन्। सारी लगाएकी कर्मचारी कार्यकक्षभित्र पसिन्। सेवाग्राही पनि पसिन्। भित्र खासखुस कुरा चल्यो। झण्डै २ मिनेटपछि सेवाग्राही बाहिरिइन्। उनको हातमा अघिको दुई सय रूपैयाँ थिएन। बाहिरिँदै गरेकी सेवाग्राहीको अनुहार उज्यालो देखिन्थ्यो। भित्र दुई कर्मचारी हाँस्दै थिए।

*दिउँसो २ बजे। कार्यालयको दोस्रो तलामा एक महिला फोनमा व्यस्त थिइन्। उनी रिसाउँदै भन्दै थिइन्, ‘हरेक काम सिस्टममा हुनुपर्छ। एक पैसा दिन्नँ। यिनीहरूले काम गरेनन् भने उजुरी गर्छु।’ उनी रिसाउँदै भुँइतलामा ओर्लिइन्। क्यान्टिनको छेउमा उभिएर फतफताउन थालिन्। अंग्रेजीमा भन्दै थिइन्, ‘आइ डन्ट गिभ मनी’ (म पैसा दिन्नँ)। कर्मचारीले नै आफ्नो ठेगाना गल्ती लेखिदिएको उनको गुनासो थियो। भन्दै थिइन्, ‘एकजना कर्मचारीले मलाई कोठाबाहिर कुनामा लिएर गयो। मैले बुझिहालेँ पैसा चाहिएको रहेछ। सरकारले तलब देको छैन र ? मैले किन दिनु पैसा ? ’

*बेलुकी ४:३० बजे। कर्मचारी बाहिरिने तरखरमा थिए। कोही हतारहतार काम गर्दै थिए। मालपोत अधिकृत भोलानाथ घिमिरे भन्दै थिए, ‘लु न बन्द गर्नुपर्‍यो। चारै बजे बन्द गर्न निर्देशन छ।’ यति भनिसकेर उनी शौचालयतर्फ गए। लगत्तै एकजना अधबैँसे व्यवसायी फाइल बोकेर कार्यकक्षमै रहेका कर्मचारीनजिक गए। उनले ढाका टोपी लगाएका कर्मचारीसँग कानेखुसी गरे। व्यवसायी फाइल बोकेर उभिरहे। ढाका टोपी लगाउने कर्मचारीले वरपरका कर्मचारीलाई नजिकै बोलाए। सबैजना काम छाडेर उनको अघिल्तिर झुम्मिए।

झन्डै ३० सेकेन्ड जति कानेखुसी गरे। त्यसपछि फेरि आआफ्नै काममा लागे। अधिकृत घिमिरे कार्यकक्षमा फर्किए। ढाका टोपी लगाउने कर्मचारी उनको नजिक गए। यताउता हेरे अनि अधिकृतको कानमा खासखुस गरे। कम्प्युटर बन्द गरेर हिँड्न लागेका घिमिरे फेरि कुर्सीमा बसे। उनको अघि एउटा फाइल आइपुग्यो। उनले फाइल हेर्दै व्यवसायीलाई भने, ‘गरे नहुने केही छैन। तर यसको लागि भोलि छुट्टै भेटौं।’

बिचौलियालाई निर्बाध प्रवेश

बिहान ९:३० बजे कार्यालय खुलिसकेको थियो। त्यसअघि नै परिसरभित्र कर्मचारीभन्दा व्यवसायी र बिचौलियाको भीड बाक्लो थियो। मालपोत कार्यालयले जारी गरेको सूचनामा भनिएको छ- ‘लेखापढी व्यवसायीले अनिवार्य रूपमा परिचयपत्र लगाएर कार्यालय सुरु बिन्दुसम्म मात्र प्रवेश गर्ने। अन्य लेखापढी गर्ने सहायक कर्मचारीहरूको प्रवेश तुरुन्त बन्द गर्ने उल्लेख छ। तर व्यवसायी कुनै कार्ड नभिरी कार्यालयभित्र निर्बाध आवतजावत गरिरहेका थिए।

कार्यालय प्रमुख विश्वराज मरासिनी १०:०२ बजे आइपुगे। परिसरमा उभिएका मान्छे उनको नजिक पुगेर नमस्ते गर्न थाले। गेटमा उभिरहेका एकजना भन्दै थिए, ‘उहाँ सर नयाँ आउनु भएको हो। खासै चिनजान छैन। पहिलेको सरसँग राम्रो सम्बन्ध थियो।’

चारखाल नाघेर नक्सालतर्फ जाँदा मातपोत कार्यालय देखिँदैन। तर वरपर सटरमा, घरमा, भुईं तलामा, माथिल्लो तलामा जताजतै टाँसिएका देखिन्छन्, लेखापढी सेन्टरका बोर्ड। मालपोत कार्यालयको गेटमा पुग्दानपुग्दै गेट अघिल्लतिर दर्जनौं मानिस देखिन्थे। उनीहरू सेवाग्राही होइनन्। कर्मचारी पनि होइनन्। तिनै लेखापढी सेन्टरबाट सेवाग्राही कुरिरहेका व्यवसायी हुन्।

कार्यालयको मूल गेटमै छ, ‘पोखरेल ढकाल कानुनी सेवा’। सटर खुल्लै छ। सटरभित्र एउटा टेबल, कुर्सी र ग्राहक बस्ने मेच छ। तर इजाजत पत्र वा प्रमाणपत्र छैन। सेवाग्राही मालपोत कार्यालय नपुग्दै व्यवसायीले बाटोमै समात्छन् अनि लैजान्छन् अगाडिको कुनै सटरमा। फर्म भरिदिन्छन्। हात समाएर ल्याप्चे गर्न लगाउँछन्। त्यसपछि सेवाग्राहीलाई पछि लगाएर व्यवसायी कार्यालय पस्छन्। अत्यावश्यक स्थानभन्दा अरुमा सेवाग्राही चाहिँदैन। उनीहरू क्यान्टिनमा चिया पिइरहन्छन्। व्यवसायी फाइल बोकेर दौडधुप गरिरन्छन्। नयाँ बजारकी मैयाँ खड्का व्यवसायीको सटरमा भेटिइन्। उनी भन्दै थिइन्, ‘लेखापढी नगरी हुन्न। आफैं जाँदा अलमल परिन्छ।’

डिल्लीबजार मालपोत कार्यालयवरपर मात्रै करिब चार सय लेखापढी व्यवसायी रहेको नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष गोविन्दप्रसाद पोखरेल बताउँछन्। लेखापढी व्यवसाय गर्न काठमाडौं जिल्ला अदालतबाट इजातत लिनुपर्छ। पोखरेल भन्छन्, ‘नियमित काम गर्ने दुई सय जना जति छन्। आधाले मात्रै इजाजत पत्र लिएको हुनुपर्छ।’

आफू ठगिएको बताउने एक युवती गेटबाहिरै भन्दै थिइन्, ‘यो मालपोत कार्यालयमा सबै ठगैठग छन्। अलि होस् पुर्‍याउनू !’ उनले एकजना वृद्धलाई देखाउँदै भनिन्, ‘त्यो बुढो छ नि, त्यसैले ठग्यो मलाई।’

सेवाग्राही आफैँले काम गर्न सके व्यवसायी अघि सर्नु नपर्ने बताउँछन् अध्यक्ष पोखरेल। कानुन व्यवसायीबाट ठगिएको उजुरी परे कार्बाही गरिने उनले बताए। भन्छन्, ‘व्यवसायीबाट सेवाग्राही ठगिएको आधिकारिक उजुरी आउनु पर्‍यो।’

कसले चलाउँदैछ मालपोत ?

कार्यालयका कर्मचारी कसैले कार्ड भिर्दैनन्। कार्यालय पोसाक पनि लगाउँदैनन्। कुन सेवाग्राही, कुन कर्मचारी, कुन बिचौलिया, कुन बैंक प्रतिनिधि केही मेसो पाइन्न। गेटभित्र शौचालय छेउमा छ सोधपुछ कक्ष। नागरिक बडापत्र पश्चिमपट्टिको भित्तामा छ। मक्किएर अक्षर चिनिँदैन। ढोकामा सुरक्षाकर्मी छैनन्। गेट खुला छ। जो आए नि सीधै भित्र पस्न पाउँछन्। अव्यवस्थित पोकापुन्तुरा कार्यालयभर यत्रतत्र छरिएका छन्।

कार्यसम्पादन कक्षको भित्तामा लेखिएको छ, ‘कर्मचारीबाहेक अरुलाई भित्र पस्न सख्त मनाही छ।’ तर व्यवसायी बेरोकटोक भित्र पसिरहेका थिए। तिनले कर्मचारीलाई ‘तिमी’ भनेर सम्बोधन गर्छन्। एकजना व्यवसायी आएर ठूलो स्वरमा भने, ‘तीन नम्बर फाइल देऊ त।’ मालपोत कार्यालयद्वारा जारी सूचनाको दुई नम्बर बुँदामा लेखिएको छ- कार्यालयभित्र लेखापढी व्यवसायीको कार्यालय भए तुरुन्त बाहिर सार्ने। तर हाकिमकै अघिल्तिर, हाकिमकै टेबलमा, हामिककै कुर्सीमा बसी व्यवसायी फारम भरिरहन्छन्। हाकिम चिउँडोमा हात राखेर ट्वाँ हेरिन्छन्। यति मात्रै होइन कार्यालयभित्र कर्मचारीलाई व्यवसायीले सिकाइरहेको देख्न सकिन्छ। कर्मचारी कम्प्युटरमा अलमल गरिबस्छन्। व्यवसायी ‘यो थिच्नू, त्यो थिच्नू’ भन्दै सिकाउँछन्। कर्मचारीको क्यालकुलेटर बिचौलियाले थिचिरहेको हुन्छ। क्यालकुलेटरमा हिसाब निकालेर कर्मचारीलाई सिकाउँदै भन्छन्, ‘बुझ्नु भयो ? ’ कर्मचारी मुन्टो हल्लाउँदै भन्छन्, ‘बुझेँ।’

कर्मचारी भन्दा बिचौलिया शक्तिशाली देखिन्छन्। लाइसेन्स नभएका बिचौलिया छ्याप्छ्याप्ती भेटिन्छन्। बन्द भइसकेको कम्युटर व्यवसायीका लागि खुल्छ।

मालपोत कार्यालय सरकारी कर्मचारीले चलाइरहेका छन् कि व्यवसायीले ? छुट्याउन मुस्किल पर्छ। अध्यक्ष पोखरेल लेखापढी व्यवसायीले सेवाग्राहीलाई सहयोग गर्नुपर्ने बताउँछन्। भन्छन्, ‘कर्मचारीलाई सिकाउने होइन, सेवाग्राहीलाई सहयोग मात्रै गर्ने हो।’ मालपोत कार्यालयका प्रमुख विश्वराज मरासिनी कार्यालयभित्र बिचौलिया नै नभएको दाबी गर्छन्। भन्छन्, ‘कार्यालयभित्र देखिने बिचौलिया होइनन्, लेखापढी व्यवसायी हुन्।’

मन्त्रीलाई फास्ट ट्र्याक

शुक्रबार दिउँसो १:३० बजे मालपोत कार्यालयमा भीडभाड थियो। लेडिज ब्याग बोकेका एक प्रहरी जवान कार्यालय परिसरमा देखा परे। पछिपछि थिइन्, प्रदेश २ की राज्यमन्त्री डिम्पलकुमारी झा। अचानक कार्यालय हलचल आयो। वरपरका कर्मचारी हतारिए। मन्त्री झा सरासर कार्यालय प्रमुखको कार्यकक्षमा पुगिन्। आधा दर्जन कर्मचारी र व्यवसायी उनको पछि लागे। कार्यकक्षमा कार्यालय प्रमुख थिएनन्। कर्मचारी र व्यवसायीको भीडले मन्त्रीलाई घेर्‍यो। एक जनाले भने, ‘बैंक बन्द भइसक्यो। आज काम बन्न गाह्रो छ।’ अर्काले तुरुन्तै प्रतिवाद गरे, ‘किन नहुनु, आजै हुन्छ काम।’ मन्त्री झाले फटाफाट केही भारतीय नोटसहित २० हजार रूपैयाँ निकालिन्। एक व्यवसायी पैसा बोकेर बैंकतर्फ लागे। तर बैंक बन्द भइसकेको थियो। तर व्यवसायी फर्केनन्। उनी ढोका ढक्ढक्याउन थाले। ढोका खुल्यो र उनी भित्र पसे। एकछिनमा काम सकेर निस्किए। बैंक बन्द भएर काम नबनेका एक सेवाग्राहीले आक्रोश पोखे, ‘हाम्रो लागि बैंक बन्द भयो रे। मन्त्रीको लागि चाहिँ खुल्यो। मन लाग्दो हुन्छ यहाँ।’

राज्यमन्त्री झा कार्यालय प्रमुखकै कोठामा गफिइरहेकी थिइन्। कार्यकक्ष छाडेर हस्याङफस्याङ गर्दै राज्यमन्त्रीको अगाडि हाजिर भए एक अधिकृत। उनी तुरुन्तै मन्त्रीको फाइल बोकेर दौडिए। चिया पनि तुरुन्तै आइपुग्यो। मन्त्रीको काम १५ मिनेटमै सकियो। ऋण फुकुवा गर्न आएकी थिइन् उनी। काम बनेपछि उनले सबैसँग खुसी साटिन्। भनिन्, ‘अरुलाई भए यति छिटो के हुन्थ्यो ! मेरो काम भएर यति छिटो भयो।’

आइतबार लेखा शाखाका कर्मचारी अन्य काम छाडेर विवाहको कार्ड मिलाउँदै थिए। मुख्य काम हुने कोठामा १:३० बजे पुग्दा ११ कुर्सीमध्ये ६ वटा खाली थियो। २ बजे रजिस्ट्रेसन र मुद्दा फाँटमा पुग्दा ८ कुर्सीमध्ये ४ खाली थियो। कम्प्युटर खुल्लै छोडेर कर्मचारी घाम ताप्न निस्केका थिए।

केही दिनअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको एक प्रतिवेदनले मालपोतलाई सबैभन्दा भ्रष्ट सरकारी कार्यालय भनेको थियो। यहाँ पनि भित्तामा अख्तियारको सूचना बोर्ड टाँसिएको छ। सूचनामा घुस मागे १०७ मा फोन गर्नु भनिएको छ। तर सेवाग्राहीलाई काम गराउनुको ध्याउन्न हुन्छ। सूचनाप्रति सेवाग्राहीको चासो छैन। शुक्रबार देखिएका अधिकांश मानिस आइतबार पनि थिए। बिचौलिया, व्यवसायी र कर्मचारीबीच हुने हाइहेल्लो, हिमचिम हेर्दा लाग्थ्यो, उनीहरू पुराना मित्र हुन्।

बेलुकी ५:१५ बजे हामी बाहिरिँदा कर्मचारी निस्किँदै थिए। कोही चारै बजे हिँडिसकेका थिए। सेवाग्राही पनि पातलिँदै थिए। केही कर्मचारी परिसर बाहिर चियापसलमा झुम्मिएका थिए। उनीहरू त्यहाँ पनि घरजग्गा कै बारेमा गफिइरहेका थिए। एकजना कर्मचारी भन्दै थिए, ‘गोंगबुको जग्गा असाध्यै राम्रो थियो !’ मंगलबारको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।

० प्रतिक्रिया




ट्रेन्डिङ