आरती साह मृत्यु प्रकरण : न्याय माग्दा प्रहरीबाटै पीडा, सडकमा लछारपछार गर्दै प्रहरीले नियन्त्रणमा लिए

दियो पोस्ट  

जनकपुरधाम ‌। जनकपुरधाम ९ थापाचोककी २२ वर्षीया आरती साहको गत जेठ ७ गते रहस्यमय मृत्यु भएको थियो । आरतीको हत्या भएको र न्याय पाउने आश नदेखेपछि विगत एक महिनादेखि माइती पक्ष काठमाडौं पुगेर आन्दोलनरत छन् ।

जनकपुरमा न्याय पाउने आश नरहेको देखेपछि गत असार १ गते आरतीकी आमा निर्मलादेवी, भाइ धिरज, बहिनी मनिषा र ठूलीआमा रञ्जनादेवी काठमाडौं पुगेका थिए ।

आरतीको हत्यामा उनको श्रीमानसहित परिवारको हात रहेको माइती पक्षको आरोप छ । दाइजो कम भएको भन्दै पछिल्लो समय घरमा श्रीमान र परिवारको अन्य सदस्यले आरतीलाई यातना दिँदै आएको र सोही निहुंमा हत्या गरेको माइती पक्षको आरोप छ ।

दुई वर्षअघि मोतीबाबु र आरतीको विवाह सामाजिक परम्परा अनुसार भएको थियो । विवाहमा दाइजोमा उनीहरूले २५ लाख रुपैयाँ, १६ तोला सुन, २५ तोला चाँदी, फर्निचरको सामानहरू लगायत लत्ताकपडा दिएको माइती पक्षले दियो पोष्टलाई बताए ।

न्याय पाउने आशा बोकेर काठमाडौं पुगेका आरतीको आफन्तहरु टन्टलापुर घाम, वर्षा र हावाहुरी छल्दै माइतीघरको खुल्ला आकाशमुनी दिनरात नभनी धर्ना बसी रहेका थिए । आज त उनीहरुलाई प्रहरीले नै पीडा दिएको छ । न्याय दिनुको सट्टा प्रहरीबाटै धरपक्कड भएपछि सामाजिक संजालमा सरकारको आलोचना भइरहेको छ ।

सरकार न्याय देउ, अपराधीलाई कारबाही गर, धनुषाका एसपीलाई निलम्बन गर जस्ता नारा उनीहरुले निरन्तर लगाइरहेका थिए । सो क्रममा प्रहरीले सबैलाई सडकमा लछारपछार गर्दै प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।

आरतीको हत्यामा उनकै श्रीमान मोतीबाबु साह र ससुरा मदनमोहन साहको संलग्नता रहेको भन्दै उनीहरुविरुद्ध माइत पक्षले ज्यानसम्बन्धी प्रहरीमा जाहेरी दिएको थिए ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा उनीहरूविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्तापछि प्रहरीले आरतीका श्रीमान र ससुरालाई पक्राउ पनि गरे । अहिले दुबैलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

तर आरतीको माइत पक्षले प्रहरीले पैसाको लेनदेन गरी मुद्दा कमजोर पारेको आरोप लगाएको छ । त्यसैले उनीहरु धनुषाका प्रहरी अधिकारीलाई पनि कारबाहीको माग गरेका छन् । घटनामा संलग्नलाई कडा कारबाही नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको अडान छ ।