काठमाडौं, १८ चैत्र । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पिएसओ (सुरक्षा गार्ड) बताउने एक व्यक्तिले दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई हतकडी लगाउने धम्की दिएका छन् ।
आफूलाई जबराको पिएसओ बताउने ललितपुरको कोन्ज्योसोम गाउँपालिका ४ नल्लु घर भएका बुद्धि स्याङ्तानले यस्तो धम्की दिएका हुन् ।
जिल्ला मालपोत कार्यालयका कर्मचारी गुरु भट्टको मोबाइल नम्बरबाट दियोपोस्टको प्रधानसम्पादक सुदिप विश्वकर्माको नम्बरमा फोन गरेर स्याङ्तानले आफू प्रधानन्यायाधीश जबराको पिएसओ भएको र आफू हतकडी लिएर दियोपोस्टको कार्यालयमा आउने बताए ।
दियोपोस्टले कोन्ज्योसोम गाउँपालिका ४ का वडाध्यक्ष तिर्थ बहादुर घलानको मिलेमतोमा ७० वर्षिय विरे भनिने विरबहादुर स्याङतानको ३ रोपनी २ आना जग्गा जग्गा धनीलाई थाहा नै नदिई अर्कै व्यक्तिको नाममा नामसारी गरिदिएको विषयमा समाचार प्रकाशन गरेको थियो ।
समाचार प्रकाशन भएपछि हतारहतार नल्लुस्थित जग्गा नामसारी पाउने गिरोहलाई भेट्न पुगेका जिल्ला मालपोत कार्यालय ललितपुरका कर्मचारी गुरु भट्टले आफ्नो मोबाइलबाट दियोपोस्टको प्रधानसम्पादक विश्वकर्माको नम्बरमा फोन गरेका थिए ।
‘तपाईंलाई कसले भन्यो । यहाँ सबै जनाले होइन भनिरहेका छन् । ल जग्गाधनीसँग फोन गर्नुस्’ भन्दै उनले प्रधानन्यायाधीशका पिएसओ बताउने स्याङ्तानलाई फोन दिएका थिए ।
‘म नल्लुको बासिन्दा हुँ । म यो जग्गाको धनी हुँ । तपाईंलाई मिडियामा खबर दिने को मान्छे हो ? त्यो भन्नुपर्यो । मिडियाले जे पायो त्यही छाप्न पाइन्छ ? यो के मिडिया हो ? तपाईंले मलाई चिन्नु हुन्छ होला । मेरो परिचय तपाईंलाई बताउनु पर्यो,’ स्याङ्तानले धम्की दिँदै भनेका छन्,‘तपाईंलाई म भोली हत्कडी लिएर आउँ भोली ? तपाईंले जे पायो त्यही छाप्न पाइन्छ ? म पुलिस हो । म प्रधानन्यायाधीशको पिएसओ हो । भोली म हतकडी लिएर आउँछु । तपाईंको ठेगाना कहाँ हो ?’
उनले पटक पटक समाचार कसले दियो भन्दै धम्की दिएका छन् । ‘यो न्युज कसले दियो । हामी यहाँ सल्लाहा गर्दैछौँ । तपाईंले न्युज नछाप्नुस्,’ उनले धम्कीपूर्वक भनेका छन्,‘यो अफिस कहाँ हो । म भोली आउँछु ।’
यता प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराको सुरक्षामा खटिएका नेपाल प्रहरीका सई ईमान भण्डारीले धम्की दिने व्यक्ति प्रधानन्यायाधीशको पिएसओ नरहेको जानकारी दिए । ‘उक्त नाम गरेको व्यक्ति सम्माननीय ज्युको सुरक्षामा छैनन् । कसैले उहाँको नाम लिएको हुनसक्छ,’ उनले भने,‘म अहिले सम्माननीयज्युसँगै छु । स्याङ्तेन वा तामाङ थर भएका व्यक्ति नै सम्माननीय ज्युको सुरक्षामा छैन ।’
प्रहरी हेडक्वार्टरका अनुसार धम्की दिने व्यक्ति स्याङ्तेन सर्वोच्चकै अन्य न्यायाधीशका चालक हुन् ।
कोन्ज्योसोम गाउँपालिकामा वडाध्यक्षको बदमासी : ७० वर्षे बृद्धको जग्गा रातारात अर्कैलाई नामसारी !