‘प्रहरी हुँ’ भन्दै डर देखाएर औषधि पसलमा रकम असुली गर्ने दुई जना पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौंका विभिन्न औषधि पसलहरूमा ‘लागुऔषध ब्यूरोबाट खटिएका प्रहरी हौँ’ भन्दै डर त्रास देखाई रकम असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध तथा अवैध औषधि बिक्री गरेको आरोप लगाउँदै औषधि पसलको खानतलासी गर्ने र नियन्त्रणमा लिएर धम्की दिई रकम असुली गर्दै आएको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये एक जना जिल्ला सिन्धुपाल्चोक, नमोबुद्ध नगरपालिका-५ घर भई हाल काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका बस्दै आएका ३७ वर्षीय आकाश भन्ने नानी बाबु लामा रहेका छन्। अर्का पक्राउ परेका व्यक्ति जिल्ला दोलखा, मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका-६ बस्ने ३४ वर्षीय प्रकाश तामाङ रहेका छन्।

पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका-६ स्थित एक औषधि पसलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले आफूलाई प्रहरी वा सरकारी कर्मचारी भनी परिचय दिई डर त्रास देखाएर रकम असुली गर्ने कार्य कानुन विपरीत रहेको जनाउँदै यस्ता गतिविधिबारे जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।