काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम कालिकोटबाट सिफारिस गरिएको छ। नेकपाले प्रचण्डको एकल नाम कालिकोटबाट सिफारिस गरेको हो ।
लामो समयदेखि माओवादी आन्दोलनको केन्द्र मानिएको रोल्पा वा हालसम्म चुनाव लड्दै आएको गोरखा छाडेर प्रचण्डको नाम कर्णालीको दुर्गम जिल्ला कालिकोटसँग जोडिनु संयोग मात्र मानिएको छैन। राजनीतिक वृत्तमा यो कदमलाई जितको सुनिश्चितता खोज्दै कमजोर भौगोलिक क्षेत्र रोजिएको रणनीतिका रूपमा व्याख्या गर्न थालिएको छ।
कर्णाली सधैं राज्यको उपेक्षामा परेको क्षेत्र हो। सडक, स्वास्थ्य, शिक्षा र रोजगारीका आधारभूत सवाल अझै पनि यहाँका जनताका लागि सपना जस्तै छन्। प्रचण्ड यही क्षेत्रलाई चुनावी मैदान बनाउने तयारीमा छन् ।
चुनावको बेला मात्रै कर्णाली राष्ट्रिय नेताको स्मृतिमा आउने र चुनाव जितेपछि काठमाडौँ फर्किने पुरानै अभ्यास दोहोरिने टिप्पणी समेत सुरु भएको छ ।
प्रचण्डले आफ्नो जन्मथलो वा माओवादी आन्दोलनको केन्द्र मानिने रोल्पाबाट चुनाव लड्न नखोज्नुले पनि उनी जितका लागि सुरक्षित स्थान खोज्दै कालिकोट पुगेका हुन् ।
विगतका निर्वाचनमा समेत उनले ‘सुरक्षित सिट’ खोजेको आरोप खेप्दै आएका छन्। कालिकोटको चर्चा आउनुले त्यो आरोपलाई अझ बल पुर्याएको छ ।
एक राजनीतिक विश्लेषक भन्छन्, ‘शीर्ष नेताले कमजोर क्षेत्रलाई नेतृत्व दिन खोजेको दाबी गर्छन्, तर व्यवहारमा त्यो क्षेत्र उनीहरूका लागि चुनाव जित्ने साधन मात्रै बन्छ।’
पार्टीभित्रको सिट बाँडफाँड र सम्भावित गठबन्धनको दबाबले पनि प्रचण्डलाई नयाँ क्षेत्र खोज्न बाध्य बनाएको विश्लेषण छ। प्रभावशाली जिल्लामा अन्य नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने भएपछि कर्णाली जस्तो राजनीतिक रूपमा कमजोर तर वाम प्रभाव रहेको क्षेत्र रोजिएको हुन सक्ने आँकलन गरिएको छ।
तर यही रणनीतिले कर्णालीलाई फेरि पनि निर्णय होइन, प्रयोगको क्षेत्र बनाइने हो कि भन्ने आशंका उब्जिएको छ। कालिकोट र समग्र कर्णालीका मतदाताहरू भने अब नाराभन्दा बढी प्रतिबद्धता खोजिरहेका छन्।
अहिलेसम्म उम्मेदवारी अन्तिम टुंगो नलागे पनि कालिकोटबाट आएको एकल सिफारिसले निर्वाचनमा प्रचण्डको उम्मेदवारी व्यक्तिगत जितभन्दा बढी कर्णालीको राजनीतिक अस्तित्वसँग जोडिएर मूल्याङ्कन हुनेछ।