६५ लाखभन्दा बढी नगद तथा गरगहना सहित एक व्यक्ति पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौं महानगरपालिका–४, बलुवाटारस्थित स्टोर्म नेटवर्क प्रा.लि. र ईको भ्याली प्रा.लि.बाट चोरी भएको नगद तथा गरगहनासहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२, खुर्सानीटार निवासी २४ वर्षीय दुर्गा बहादुर के.सी. रहेका छन्।

प्रहरीका अनुसार स्टोर्म नेटवर्क प्रा.लि.बाट रु. ४८,७२,६२० र ईको भ्याली प्रा.लि.बाट रु. ८,५८,५४१ गरी कुल रु. ५७,३१,१६१ चोरी गरिएको थियो। मिति २०८२ पुष १२ गते राति चोरी गरी फरार रहेका के.सी.लाई खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङसँगको समन्वयमा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ बाट पक्राउ गरिएको हो।

पक्राउ परेका के.सी.को साथबाट ६५ लाख १७ हजार १४० रुपैयाँ नगद, चाँदी जस्तो देखिने सेतो धातुका ब्रासलेट १५ थान, साना–ठूला चाँदी जस्तो देखिने सेतो धातुका सिक्का २८ थान, चाँदी जस्तो देखिने सेतो धातुको एक थान सामग्री तथा एचपी कम्पनीको एक थान ल्यापटप बरामद गरिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।