काठमाडौं । नेपाली नागरिकलाई गैरकानुनी रूपमा जुवा खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले काठमाडौंको बुढानिलकण्ठ तौलुङस्थित गरुड क्यासिनोबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका-३ बाँसबारी बस्ने ६५ वर्षीय पशुपति खड्का, महोत्तरी बर्दिबास नगरपालिका-८ घर भई हाल गोकर्णेश्वर नगरपालिका-६ बस्ने ४६ वर्षीय दयाराम राना, काठमाडौं महानगरपालिका-६ रामनगर बौद्ध बस्ने ५३ वर्षीय भरतराज पौडेल, दोलखा मेलुङ गाउँपालिका-२ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-१ बस्ने ४० वर्षीय सन्तोष भण्डारी तथा खोटाङ खोटेह्याङ गाउँपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-४ बसुन्धारा बस्ने २४ वर्षीय गणेश बहादुर मगर रहेका छन्।
उनीहरूको साथबाट विभिन्न दरका क्यासिनो चिप्ससमेत बरामद गरिएको छ। बरामद सामग्रीमा लेखिएको सुन्तला रङ्गको चिप्स १० थान, १० हजार रुपैयाँ लेखिएको पहेँलो रङ्गको चिप्स ३ थान, १ हजार रुपैयाँ लेखिएको रातो रङ्गको चिप्स ४ थान र नीलो रङ्गको चिप्स १ थान रहेका छन्।
नेपाली नागरिकहरूबाट रकम डिपोजिट गराई सोही बापत क्यासिनोभित्र जुवा खेल्न प्रयोग हुने विभिन्न दरका चिप्स प्रदान गरी ठूलो रकमको हारजित हुने गरी जुवा खेलाउने तथा खेल्ने कार्य भइरहेको सूचनाका आधारमा प्रहरीले क्यासिनोमा छापा मारेको थियो ।
पक्राउ परेकामाथि जुवा खेल्न तथा खेलाउन नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।