काठमाडौं । नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले काठमाडौंको अत्तरखेल चोकबाट ६ जनालाई पक्राउ गरेको छ।
बुधबार राति करिब ९ः३० बजेको समयमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका-८ स्थित अत्तरखेल चोकमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा उनीहरूको साथबाट एक हजार दरका नक्कली नोट ९९३ थान फेला परेको प्रहरीले जनाएको छ। बरामद नक्कली नोटको कुल रकम ९ लाख १० हजार रुपैयाँ बराबर रहेको प्रहरीको भनाई छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जिल्ला बाह्रबीसे नगरपालिका-२ घर भई हाल काठमाडौं शंखरापुर नगरपालिका–४ साँखु बस्ने ३२ वर्षीय दावा नोर्वु शेर्पा, सोही स्थानमा बस्ने ४४ वर्षीय पासाङ शेर्पा, मेलम्ची नगरपालिका–३ घर भई साँखु बस्ने ३२ वर्षीय प्रकाश गुरुङ रहेका छन्।
यसैगरी, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१० घर भई शंखरापुर-६ बस्ने ४२ वर्षीया रेणुका भारती, बलेफी गाउँपालिका-२ घर भई शंखरापुर-६ बस्ने ६५ वर्षीय गोकर्ण थापा तथा काठमाडौं शंखरापुर नगरपालिका–३ बस्ने ४३ वर्षीय सुक बहादुर स्याङ्बो पनि पक्राउ परेका छन्।
पक्राउ परेका सबैलाई नक्कली नोट कारोबार सम्बन्धी कसुरमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।