राष्ट्रिय तेक्वान्दो डेमोन्स्ट्रेसन टिम फाइनलमा

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल तेक्वान्दो संघको राष्ट्रिय डेमोन्स्ट्रेसन टिम भारतको चर्चित रियालिटी शो ‘इन्डियाज गोट ट्यालेन्ट सिजन-११ को फाइनलमा प्रवेश गर्न सफल भएको छ। सोनी टेलिभिजनबाट प्रसारण भइरहेको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टिमले अन्तिम चरणको यात्रा तय गरेको हो।

नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाका अनुसार डेमोन्स्ट्रेसन टिम हाल फाइनल प्रतिस्पर्धाको तयारीका लागि भारतमै रहेर नियमित अभ्यास गरिरहेको छ। प्रतियोगिताको फाइनल जनवरी २ तारिखमा आयोजना हुने जनाइएको छ।

नेपालका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र महोत्सवहरूमा आकर्षक प्रस्तुति दिँदै आएको यस डेमोन्स्ट्रेसन टिमले दक्षिण कोरियामा समेत प्रदर्शन गरी आफ्नो अन्तर्राष्ट्रिय क्षमता प्रमाणित गरिसकेको नेपाल तेक्वान्दो संघले जनाएको छ। संघले फाइनलमा प्रतिस्पर्धा गर्न लागेको टिमलाई सफलताको शुभकामना पनि व्यक्त गरेको छ।

फाइनलमा पुग्ने नेपाली टिममा मन्डिप राई, मनोज सुवेदी, सुजल गुरुङ, सुकमाया गुरुङ, कपिल गुरुङ, सुनिल तामाङ, समना पुरी, मनीषा पराजुली, अस्मिता तामाङ, शितल मगर, दावा साङ्बु भोटे, सागर तामाङ, सुरज खड्का, आदर्श मगर, ओमन घले, गरिमा कोइराला, समीर खत्री, अन्जिल मगर, सिमा मगर, शिवम विक, राधा विक, याङजी शेर्पा र रुपा मगर सहभागी छन्।

टिमको हेड अफ टिममा श्याम थापा मगर, प्रशिक्षकमा ओशन श्रेष्ठ तथा टिम कप्तानमा सावन थापा मगर रहेका छन्। नेपाली तेक्वान्दो खेलाडीहरूको यो सफलताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको खेलकुद प्रतिष्ठा अझ उचो बनाएको छ।