काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फ शोभाखर बञ्जाडेलाई सिफारिस गरेपछि लुम्बिनीका पर्यटन व्यवशायीहरु उत्साहित भएका छन् । बञ्जाडेले पर्यटन प्रवर्धन र बिकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउन सक्ने भन्दै व्यवशायीहरु उत्साहित भएका हुन् ।
मालारानी गाउँपालिका वडा नं. १ का बञ्जाडे हाल नेपाल पर्यटन व्यवसायी संगठनको केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारीमा छन् । पर्यटन क्षेत्रको प्रवर्द्धन र बिकासमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउँदै आएका उनी माओवादी आन्दोलन, संगठन सुदृढीकरण तथा सर्वहारा वर्गीय आन्दोलनमा समेत सक्रिय रहँदै आएका छन् ।
उनी नेकपाको सिफारिसमा अर्घाखाँची क्षेत्र नं.१ बाट चुनाब लड्ने तयारीमा छन् । उनको उम्मेद्वारीले अर्घाखाँची र सिंगो लुम्बिनी प्रदेशको बिकाससंग अर्थ राखेको विश्लेषकहरु बताउँछन् ।
आफ्नो उम्मेद्वारीका बारेमा बञ्जाडे भन्छन्, ‘यस भन्दा पहिले बिकासका नारा दिएर चुनाव जितेका कैयौँ नेताहरु अर्घाखाँचीले पाएको छ । तर भोट माग्न जाँदा जनतासमक्ष बाँढेका सपना नारामा मात्रै सिमित राखेर आफ्नो खल्ती मात्रै भर्ने प्रतिनिधि अर्घाखाँचीले मात्रै पाएको छ । अब भने बिकासको मोडेलसहित मेरो क्षेत्र र समग्र देशको समृद्धिको रुपरेखा तयार गरेर चुनाबमा होमिन आएको छु । यो मेरो लागि ऐतिहासिक अवसर हो ।’
नेकपाले आफुलाई बिश्वास गरेर उम्मेद्वार बनाएको भन्दै उनले पार्टीप्रति आभार ब्यक्त गरे ।
उनको उम्मेदवारीले विकास र समृद्धिको अपेक्षा गरेका अर्घाखाँचीबासीमा समेत उत्साह थपिएको छ । स्थानीय भूगोल, जनजीवन र आवश्यकता बुझेका बञ्जाडे प्रतिनिधि सभाका लागि योग्य र सक्षम युवा उम्मेदवार भएको नेकपाका नेताहरूको भनाइ छ ।
अर्घाखाँचीलाई विकास र समृद्धिको दिशामा अघि बढाउन उनी एक प्रभावकारी युवा नेताको रूपमा प्रस्तुत भएका छन् ।