मेटलाइफद्वारा पुनःनिर्माण कोषमा २५ लाख रुपैयाँ आर्थिक सहयोग

दियोपोस्ट संवाददाता  

काठमाडौँ । मेटलाइफ नेपालले नेपाल सरकारको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। मेटलाइफ नेपालका प्रतिनिधिहरूले नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

मेटलाइफ नेपालका अनुसार, यो सहयोग मार्फत कम्पनीले देशका स्थानीय समुदायहरूको हितप्रति आफ्नो निरन्तर प्रतिबद्धता प्रकट गरेको छ। कम्पनीले जनजीवन सहज बनाउन र देशको भौतिक संरचनाहरूको पुनःनिर्माणमा सरकारको पहललाई सहयोग गर्ने उद्देश्य राखेको जनाएको छ।

मेटलाइफ विश्वका प्रमुख वित्तीय सेवा प्रदायक कम्पनीहरूमध्ये एक हो। यो कम्पनी जीवन बीमा, एन्युटी, कर्मचारी लाभ योजना र सम्पत्ति व्यवस्थापन सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकलाई सुरक्षित भविश्य निर्माणमा सहयोग गर्दै आएको छ।

मेटलाइफ सन् १८६८ मा स्थापना भएको बिमा कम्पनी हो । विश्वभर ४० भन्दा बढी बजारमा यो कम्पनी सञ्चालनमा छ । जसमा संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्यपूर्वका प्रमुख बजारहरू समावेश छन्।

नेपालमा, मेटलाइफ सन् २००१ देखि अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रूपमा सञ्चालनमा छ। यसले जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, सामूहिक बीमा जस्ता योजना उपलब्ध गराउँदै आइरहेको छ। थप जानकारीका लागि, कम्पनीको वेबसाइट हेर्न सकिन्छ वा ९७७-१-५९७०१६६ मा सम्पर्क गर्न सकिने मेटलाइफ नेपालले जनाएको छ ।