काठमाडौँ । उपन्यासकार नगेन्द्र न्यौपानेको चौथो उपन्यास ‘दरबारको कानुन’ सार्वजनिक भएको छ। अनेसास दर्पणको संयोजनमा ‘मिलाप’ मासिकद्वारा आयोजित विशेष कार्यक्रमबीच उपन्यास सार्वजनिक गरिएको हो ।
साहित्यकार तथा प्राध्यापक पुरुषोत्तम दाहाल प्रा.डा. शैलेन्द प्रकाश नेपाल, खेमनाथ दाहाल, राधेश्याम लेकाली, ईश्वरी वाग्ले, डा. यज्ञेश्वर निरौला, डा.अम्बिका अर्याल, सन्तोष श्रेष्ठलगायत मञ्चासीन अतिथिहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गरे।
कार्यक्रममा समीक्षक डा. अम्बिका अर्यालले उपन्यासले गल्ती गर्नेहरू निडर बनेर हिँड्ने र निर्दोषले पीडा सहनुपर्ने तीतो यथार्थलाई सशक्त रूपमा उजागर गरेको बताइन्। डा. यज्ञेश्वर निरौलाले नमिता–सुमिता काण्डलाई आधार बनाएर लेखिएको उपन्यासमा मानवीय क्रूरताको चित्रण गरिएको उल्लेख गर्दै यस्ता घटनाहरू दोहोरिन नदिन चेतना जगाउनु लेखकको उद्देश्य हुन सक्ने धारणा व्यक्त गरे।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले डायस्पोरामा रहेका स्रष्टाहरूले नेपाली साहित्य समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै लेखकलाई बधाई दिए।
विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले कृतिमा उठाइएका घटनामाथि अन्तरसंवादको अवसर मिलेको भए अझ स्पष्टता आउने थियो भन्दै उपन्यासको सफलताको कामना गरे।
महाकाव्यकार खेमनाथ दाहालले कठोर साधनाबाट जन्मिएको यस उपन्यासले भविष्यमा सो विषयमा लेखिने कृतिहरूका लागि सन्दर्भ सामग्रीको काम गर्ने विश्वास व्यक्त गरे। प्रमुख अतिथि शैलेन्दुप्रकाश नेपालले नमिता–सुमिता काण्डमा आधारित कविता आफूले पहिल्यै लेखेको स्मरण गर्दै अहिले त्यसै विषयलाई लिएर उपन्यास प्रकाशित हुनु महत्वपूर्ण उपलब्धि भएको बताए।
सभापति पुरुषोत्तम दाहालले पत्रकारितामा सक्रिय रहँदा उक्त घटनासम्बन्धी धेरै समाचार प्रकाशन गरेको अनुभव सुनाउँदै शक्तिको आडमा यस्ता घटनाहरू आज पनि भइरहेकामा चिन्ता व्यक्त गरे।
साहित्यकार कृष्ण भुसालले सञ्चालन गरेको कार्यक्रममा गीता अधिकारीले स्वागत मन्तव्य राखे भने कार्यक्रमको संयोजन अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले गरेका थिए।
न्यौपानेका यसअघि हराएका कैदीहरू (कविता संग्रह), यात्राको बङ्गलादेश (यात्रा संस्मरण), अन्तिम घुट्को (कथासंग्रह), उल्टो रिस (उपन्यास), कङ्गो र इथोपियाको सेरोफेरो, बर्मा र थाइल्यान्डभित्र नेपाल (यात्रासंग्रह), दरबारबाहिरकी महारानी र खण्डहर दरबार (उपन्यास) प्रकाशित कृति हुन्।
ब्रदर बुक्स प्रकाशन प्रा।लि।द्वारा प्रकाशित उपन्यासको आवरण डिजाइन बद्री अधिकारीले गरेका हुन् भने मुद्रण आवृत्ति छापाखानाले गरेको हो।
कार्यक्रममा लेखनाथ पोखरेल, डा। बुनु दाहाल, चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, तुलसी गिरी भावुक, प्रकाशक यज्ञ न्यौपानेलगायत थुप्रै साहित्यकार, पत्रकार तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
